Skip to main content

नेपालको पर्यटन विकासका लागि अनिवार्य १० कार्यहरू

नेपालको पर्यटनलाई सामान्य भ्रमणबाट अनुभवमा आधारित, उच्च मूल्य र दिगो मोडेलतर्फ लैजान आवश्यक छ। नेपालमा पर्यटनको असीम सम्भावना रहेको कुरा नयाँ होइन। यो विषय लामो समयदेखि उठ्दै आएको छ, तर यसको पूर्ण उपयोग हुन सकेको छैन। सबैको मान्यता छ कि पर्यटनबाट समृद्धि सम्भव छ, तर व्यवहारमा कार्यान्वयन कमजोर देखिन्छ। नीति तथा कार्ययोजना त्यस्तो अनुसार तयार भएका छैनन्, जसका कारण ठूलो सम्भावना प्रयोग हुन सकेको छैन। अब ढिला गर्ने अवस्था छैन। नेपालको पर्यटनलाई सामान्य भ्रमणबाट अनुभवमा आधारित, उच्च मूल्य र दिगो मोडेलतर्फ लैजान विशेष प्राथमिकता दिन आवश्यक छ।

१) रिब्रान्डिङ र रिपोजिसनिङ: हिमालय र पर्वतारोहण बाहेक सांस्कृतिक सम्पदा, आरोग्य, साहसिक गतिविधि तथा आध्यात्मिक पर्यटनमा ध्यान केन्द्रित गरेर अघि बढ्नुपर्छ। लुम्बिनीलाई विश्वस्तरको आध्यात्मिक ध्यान केन्द्र बनाउने र नेपाल भ्रमण वर्षजस्ता अभियानहरूलाई निरन्तरता दिँदै व्यावसायिक प्रतिष्ठान र बजारीकरणसँग समन्वय गर्न जरुरी छ।

२) गुणस्तरीय पूर्वाधार: पर्यटनका लागि आवश्यक पूर्वाधारहरू सुरक्षित र नियमित सञ्चालनमा रहनुपर्छ। काठमाडौँ, पोखरा र लुम्बिनीस्थित अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र व्यवस्थापन सुधार गरी हवाई सञ्जाललाई सहज बनाउनुपर्नेछ। सडक सञ्जाल र डिजिटल कनेक्टिभिटीमा पनि सुधार आवश्यक छ। पर्यटक बस, ट्रेकिङ रुटहरूमा समेत ठूला सुधार आवश्यक छन्।

३) सेवा गुणस्तर र मानव स्रोत विकास: आतिथ्य सत्कार नगरालायक होटल, रेस्टुरेन्ट र पथप्रदर्शकलाई नियमित तालिम र क्षमता विकासमा जोड दिनुपर्छ। यसले आतिथ्यलाई सम्मानित करियरको रूपमा स्थापित गर्न मद्दत पुग्छ। स्थानीय स्तरमा सीप विकास केन्द्र स्थापना गरी विभिन्न प्राविधिक दक्षता प्रदान गर्न पनि सकिन्छ।

४) नयाँ गन्तव्य र उत्पादन विकास: नेपालका कतिपय पर्यटकीय गन्तव्यमा भीडभाड बढ्दै गएपछि सेवा स्तर र आकर्षण कायम नरहने जोखिम छ। यस्तो अवस्थामा नयाँ गन्तव्य खोजी तथा विकासका लागि तुरुन्त कदम चाल्नुपर्छ। रारा ताल क्षेत्रलाई उच्च मूल्यको पर्यावरण पर्यटन केन्द्रमा परिणत गर्ने, उपल्लो मुस्ताङलाई सांस्कृतिक र साहसिक पर्यटकीय क्षेत्रमा विकास गर्ने, चिया-कफीसँग जोडिएको कृषि पर्यटनजस्ता सम्भावनाहरू तत्काल खोज्न सकिन्छ।

५) डिजिटल मार्केटिङ र प्रविधि प्रयोग: गुगल, ट्रिपएड्भाइजर, बुकिङ डटकमजस्ता प्लेटफर्ममा प्रभावकारी उपस्थिति, ओटीए र अनलाइन बुकिङ सुविधासँगको समन्वय, भर्चुअल टूर, कृत्रिम बुद्धिमत्ता र डिजिटल मिडियामार्फत प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेछ।

६) नीतिगत सुधार र सहुलियत: पर्यटकको प्रवेश अनुमति वितरणमा एकद्वार नीति ल्याउन सकिन्छ। भिसा नीति सरल र सहज बनाउनुपर्छ। कर छुट लगायत प्रोत्साहन कायम गर्दा निजी क्षेत्र यस क्षेत्रमा थप सहयोग गर्नसक्छ।

७) सुरक्षा, सरसफाइ र विश्वासको वातावरण: पर्यटक प्रहरीलाई थप सशक्त बनाउँदै सरसफाइ अभियान, वन, हिमाल तथा नदी संरक्षण कार्य सञ्चालन गरी पर्यटनलाई सम्मानजनक बनाउन सकिन्छ।

८) पर्यटनको दिगोपनाका लागि प्राथमिकता: ट्रेकिङ रुटहरूमा प्लास्टिक निषेध लगाउने, स्थानीय सामग्रीको प्रयोग बढाउने, फोहरमैला नियन्त्रणका लागि प्रभावकारी योजना लागू गर्ने, एक गाउँ–एक उत्पादनजस्ता परियोजनाहरू निरन्तर सञ्चालन गर्ने।

९) उच्च मूल्यको पर्यटन रणनीतिहरू अपनाउने: अबको प्राथमिकता धेरै संख्यामा पर्यटक ल्याउनेभन्दा बढी खर्च गर्ने पर्यटकलाई आकर्षित गर्ने हुनुपर्छ।

१०) सार्वजनिक र निजी साझेदारी: सरकारले सबै व्यवसाय सञ्चालन गर्न सक्दैन र गर्न पनि हुँदैन। उपयुक्त वातावरण सिर्जना गरी लगानीको संरक्षण, आयआर्जनका माध्यमहरू विकास गरी विविध सहुलियतहरू प्रदान गरी निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ।

अन्त्यमा, नेपालसँग प्रकृति, संस्कृति र अध्यात्ममा ठूलो सम्भावना छ। यसलाई जोड्नुपर्नेछ। संख्यात्मक होइन, गुणात्मक पर्यटन आवश्यक छ। यसका लागि सिद्धार्थ हस्पिटालिटी यस प्रकारको सहकार्यका लागि प्रतिबद्ध छ।