
छोरीकी हत्या आरोपमा आमालाई पक्राउ गरिएको छ
१४ जेठ, दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–३, सिद्धार्थ टोलमा ३१ दिनकी छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिकाबाट घर भएकी र सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरिएको अवस्थामा मैनाकी पति ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए। उनले तुरुन्तै शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगाउँ पुर्याएका थिए। अस्पतालका चिकित्सकहरूले साँझ ५:४५ बजे शिशुलाई मृत घोषणा गरे। त्यसपछि आमा मैना थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए। प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकी मैना डिप्रेसनको औषधि सेवन गरिरहेको पाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। –रासस