Skip to main content

सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सोयब र अनिताले स्वर्ण पदक जिते

बागमती प्रदेशका सोयब श्रेष्ठले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सिनियर पुरुष इपीतर्फ स्वर्ण पदक जितेका छन्। एपीएफ क्लबकी अनिता अधिकारीले सिनियर महिला फोयलतर्फ स्वर्ण पदक हासिल गरिन्। ललितपुरको सातदोबाटोमा आयोजित प्रतियोगितामा ६ टोलीका ९६ खेलाडी सहभागी भएका छन्।

सोयबले सिनियर पुरुष इपीको फाइनलमा एपीएफका जंग गिरीलाई हराउँदै स्वर्ण पदक सुनिश्चित गरे। गण्डकी प्रदेशका प्रशान्त गुरुङ र एपीएफका सुकीराम तामाङले कांस्य पदक हात पार्दै तेस्रो स्थानमा चित्त बुझाए। अनिताले सिनियर महिला फोयलको फाइनलमा त्रिभुवन आर्मी क्लबकी मनिषा श्रेष्ठलाई पराजित गरिन्। बागमतीकी सोफिया चन्द र एपीएफकी उर्मिला माझीले तेस्रो स्थानमा चित्त बुझाए।

नेपाल फेन्सिङ संघको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले गरेका थिए। उद्घाटन कार्यक्रममा नेपाल शूटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका सचिव रमेश सिवाकोटी, नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा, र नेपाल हक्की संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले अघिल्लो सरकारको पक्षपातका कारण फेन्सिङ खेलले अपेक्षित प्रगति गर्न नसकेको अनुभव सुनाए। उनले सरकारले सबै खेललाई समान दृष्टिले हेर्नुपर्नेमा कतिपयलाई प्राथमिकता र अरुलाई पछि पारिएको कारण फेन्सिङ खेल पछाडि परेको धारणा व्यक्त गरे। आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा चारवटा स्पर्धा छन्।