Skip to main content

राप्रपाका तीन पूर्वअध्यक्षले महाधिवेशनमा शंका नगर्न र आत्मघाती कदम नउठाउन आग्रह गरेका छन्

१६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले तोकिएको समयमा महाधिवेशन आयोजना हुनेमा शंका नगर्न र असन्तुष्ट पक्षलाई अनुरोध गरेका छन्। पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त वक्तव्य जारी गरेका हुन्। ‘आगामी जेठ महिनाको अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशन मिति निश्चित गर्ने केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको छ,’ वक्तव्यमा भनिएको छ, ‘तोकिएको समयमा महाधिवेशन हुने विषयमा कुनै शंका नगर्नुहोस्। पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको समाधान महाधिवेशनद्वारा नै गरिने छ।’
त्यस्तो अवस्थामा पार्टी छाड्ने निर्णय लिन नहुने पनि उनीहरूको आग्रह छ। ‘अहिलेको अवस्थामा पार्टी छाड्ने वा पलायन हुने विषयमा सोच्नै नहुने र त्यस्तो आत्मघाती कदम चाल्न नहुने कुरामा हामी पार्टीका सम्पूर्ण सदस्यहरूलाई विशेष अनुरोध गर्दछौं,’ वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा, गत निर्वाचनमा अपेक्षित सफलता नआए पनि एकतालाई मजबुद गर्दै सशक्त कार्ययोजनाको माध्यमबाट अघि बढे छोटो समयमा अप्रत्याशित सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ।