Skip to main content

राप्रपाका तीन पूर्वअध्यक्षहरूले महाधिवेशनमा शंका नगर्न र आत्मघाती कदम नचाल्न आग्रह गरे

१६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले तोकिएको समयमा महाधिवेशन अवश्य आयोजना हुनेमा कुनै शंका नगर्न र असन्तुष्ट पक्षलाई संयमित रहन अनुरोध गरेका छन्। पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका छन्। उनीहरूले भने, ‘आगामी जेठ महिनाको अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशन मिति निश्चित गरिनेछ र केन्द्रीय कार्यसम्पादन समितिले यसका निर्णयहरू गरिसकेको छ।’
वक्तव्यमा थप भनिएको छ, ‘तोकिएको समयमा महाधिवेशन सम्पन्न हुने विषयमा नकरात्मक वा अन्य कुनै शंका नगर्नुहोस्। पार्टीभित्रका चुनौती तथा समस्याहरूको समाधान महाधिवेशनकै माध्यमबाट सम्भव छ।’
त्यसैगरी, पार्टी छोड्न वा त्यागपत्र दिन नहुने पनि उनीहरूले स्पष्ट पारेका छन्। ‘अहिलेको सन्दर्भमा पार्टी छाड्ने वा पलायन गर्ने विषयमा सोच्नै नहुने र यस्तो आत्मघाती कदम नउठाउन सबै पार्टी सदस्यहरूलाई विशेष अनुरोध गर्दछौं।’
वक्तव्यमा, गत निर्वाचनमा अपेक्षित सफलता नआए पनि पार्टी एकतालाई मजबुत पार्दै सशक्त कार्ययोजनाबाट अघि बढे छोटो समयमा अप्रत्याशित सफलताको प्राप्ति हुने विश्वास पनि व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ