प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेका युवा–विद्यार्थीहरूले निकाले मशाल जुलुस

नेकपा एमालेका युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस निकालेका छन्। प्रधानमन्त्रीले नेपालले भारतको जमीन मिचेको भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन नेकपा एमालेले माग गरेको छ। १७ जेठ, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्तिका बारेमा कुरा गरेका थिए। यसै कारण नेकपा एमालेले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।
एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन्। उनीहरूले ‘मेयर हुँदा ग्रेटर नेपाल, प्रधानमन्त्री हुँदा लम्पसारवाद, दोहोरो चरित्र बन्द गर’, ‘कुर्सीमा बसेर देशलाई लज्जित पार्न पाइँदैन, राष्ट्रघाती अभिव्यक्तिको सहिँदैन’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।






