Skip to main content

जीपीएस स्पूफिङ: विश्वभरको उड्डयन क्षेत्रमा चुनौती दिने अदृश्य ‘युद्ध’

यूकेका रक्षामन्त्री सवार ब्रिटिश रोयल एअर फोर्सको विमान केही दिनअघि एस्टोनिया पुग्‍नेबित्तिकै एक असामान्य अवस्था देखा पर्यो। बीबीसी विश्व सेवाले पनि परीक्षण गरेको उडान डेटाअनुसार उक्त विमान अचानक केही सेकेन्डमै त्यहाँबाट ३०० किलोमिटर टाढाको रुसी भूभागभित्र पुगेको देखियो। विमान सेन्ट पीटर्स्बर्गन नजिकैको एउटा तालमाथि मात्र ११ किलोमिटर प्रतिघण्टाको गतिमा उडिरहेको देखियो। तर यी सबै विवरण वास्तविक थिएनन्। ‘जीपीएस स्पूफिङ’ भनेर चिनिने एक प्रकारको झुक्याउने प्रणालीका कारण विमानको ‘न्याभिगेशन’ प्रणाली भ्रमित भयो। जीपीएस स्याटलाइटले पठाउने संकेतहरूलाई धेरै रेडियो सिग्नलहरूले नक्कल गर्दा यस्तो घटना हुन्छ। किनभने स्याटलाइट संकेतहरू पृथ्वीमा पुग्दा कमजोर भइसकेका हुन्छन् र जमिनमा रहेका ट्रान्स्मिटरहरूले अझ शक्तिशाली सिग्नलहरू प्रसारण गर्छन्। यसरी विमानको ‘न्याभिगेशन’ प्रणाली झुक्किन्छ।

स्पूफिङ प्रायः सैनिकहरूले प्रयोग गर्छन्। उनीहरूले लामो दूरीका क्षेप्यास्त्र र साना ड्रोनहरू लगायत जीपीएस न्याभिगेशन प्रविधि प्रयोग गर्ने शत्रुका अस्त्रहरूको लक्ष्य कमजोर बनाउन यस्ता तरिका अपनाउँछन्। कैयौँ देशका सेना यस्ता ट्रान्स्मिटरहरू निर्माण गरी निश्चित स्थानमा राख्ने वा गाडीहरूमा राखेर चलाउने गर्छन्। तर युद्धकालीन विद्युतीय जालमा कहिलेकाहीँ व्यावसायिक उडानहरू पनि पर्दछन्। रोयल एअर फोर्सका पाइलटहरूले हालैको घटनापछि जीपीएसको सट्टा कम सटिक तरिकाले आवद्ध प्रणाली प्रयोग गरी विमानलाई मार्गमा उडाउन बाध्य भएका छन्, रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले विमानको सुरक्षामा कुनै जोखिम नपरेको पनि जनाएको छ।

वास्तवमा उक्त दिन उक्त क्षेत्रमा प्रभावित हुने जहाज त्यो एउटा मात्रै थिएन। उड्डयन परामर्शदाता कम्पनी एसकेएआई डेटा सर्भिसले बीबीसीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार, स्पूफिङका कारण १०० भन्दा बढी यात्रुवाहक विमानहरूले गलत डेटा देखाउँदै थिए। ती डेटाले स्पूफिङ र जामिङ गतिविधिहरू धेरै सैन्य अभियान वा युद्ध क्षेत्रहरूमा व्यापक रूपमा भइरहेको देखाएको छ। जीपीएस काममा अवरोध पर्ने यस्ता सिग्नलहरू बल्टिक क्षेत्र, खाडी, लाल सागर, भारत, पाकिस्तान र म्यानमार वरिपरि फेला परेका छन्। २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानसँग युद्ध सुरु गरेदेखि खाडीमा पनि विमानहरूले स्पूफिङ समस्याबारे जानकारी गराएका छन्।