
१९ जेठ, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतले सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले फरार प्रतिवादीहरूलाई फरक–फरक अवधिमा पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूको बीचमा चोरी, अभद्र व्यवहार, लागुऔषध र वैदेशिक कसुर मुद्दाका सजाय पाएका व्यक्तिहरु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको भनाइ अनुसार, अभद्र व्यवहारमा २६ दिनको सजाय पाएका बनेपा ८ का २२ वर्षका सुरज काफ्ले, चोरी मुद्दामा ५ महिना ५ दिनको सजाय भोगिरहेका बनेपा ११ का ३३ वर्षका रुपक अधिकारी, वैदेशिक कसुर मुद्दामा २ वर्ष कैद सजाय भएका चौतारा साँगाचोकगढी ९ का २७ वर्षका रमेश श्रेष्ठ, लागुऔषध मामलामा २ महिना ४ दिन सजाय पाएका नमोबुध ६ का २६ वर्षका अनिल तामाङ (ईन्द्र लाल तामाङ), चोरी मुद्दामा ५ महिना ३ दिन सजाय पाएका बनेपा ८ का ३७ वर्षका विवस मानन्धर र ललितपुर उपमहानगरपालिका २० का हुन् भनी अहिले बनेपा ८ मा बसोबास गर्ने ३६ वर्षका साजन शाक्यलाई पक्राउ गरेको छ। उनीहरूलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट थप ७ दिन म्याद थप गरिएको छ।
पक्राउ परेकाहरूबाट कुल ३ वर्ष ६ महिना ७ दिन कैद सजाय र ८ लाख १२ हजार जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न अभियान जारी राखेको छ।






