
अजिरकोट गाउँपालिका अंतर्गत पर्ने नागेपोखरी क्षेत्रलाई समेट्दै बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट ट्रेल विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै काम अगाडि बढाइएको छ। डिभिजन वन कार्यालय गोरखाले सिमसार क्षेत्र र पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत नागेपोखरी संरक्षण तथा पूर्वाधार निर्माणका योजनाहरू अघि सारेको छ। अजिरकोट स्थित गोरखाको यस धार्मिक तथा पर्यटकीय स्थलमा आवास सुविधा नभएको कारण पर्यटकहरूलाई एकै दिन फर्किनुपर्ने बाध्यता रहेको छ। २१ जेठ, गोरखा।
अजिरकोट गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य नागेपोखरी हो। समुद्र सतहबाट करिब ३२०० मिटर उचाइमा रहेको यो स्थान पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पालिकाका अनुसार यहाँ आन्तरिक पर्यटकहरूको घनत्व बढी छ। भच्चेकको सिरानडाँडाबाट करिब पाँच घण्टाको पैदल यात्रा पश्चात् यहाँ पुगिन्छ। यस ठाउँबाट प्राकृतिक रमणीय दृश्यका साथै बुद्ध हिमाल र गणेश हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ। यहाँ रातो, सेतो, गुलाबी र निलो गरी चार प्रकारका गुराँस फूल्नेछन्।
‘धेरैजसो ट्रेकिङ र हाइकिङका लागि यहाँ आउँछन्,’ पालिका अध्यक्ष दिपक देवकोटाले बताए, ‘कतिपय धार्मिक कर्महरूको लागि यहाँ आउनेहरूको संख्या पनि उल्लेख्य छ।’ उनले थपे, यो पोखरीको पृथक धार्मिक मान्यता र विश्वास छ। कैलाश पर्वतको गोप्य ओडारमा अमृतमय विष धारण गर्ने दुर्लभ नागदेवबाट वर्षा भएको अमृतजलले यो पोखरी बनेको भन्ने धार्मिक आस्था यहाँ पाइन्छ।
‘कैलाश पर्वतको गोप्य ओडारमा अमृतमय विष धारण गर्ने दुर्लभ नागहरू बस्छन्। तिनको विषले वरपरका वनस्पतिहरूमा प्रभाव पार्दछ जसले गर्दा हिमाली भेगमा अनौठो जडीबुटीको भण्डार रहन्छ। त्यही नागदेवबाट वर्षा भएको अमृतजलले यही पोखरी बनेको हो भनेर जनविश्वास छ,’ उनले बताए। यहाँ आवासका लागि कुनै होटल वा लज छैन। बस्न चाहनेहरूले आवश्यक खाद्यान्नदेखि आफ्ना बासस्थानका सामग्रीहरू आफूसँगै लैजानुपर्छ।
पर्यटन प्रवर्द्धनका लागि पालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको अध्यक्ष देवकोटाले जानकारी दिएका छन्। बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट ट्रेलको रूपमा यस मार्गलाई विकास गर्ने योजना अघि बढाइएको छ। ‘यो ट्रेल रुविनालाबाट सुरु भएर दुधपोखरी, दोर्दी हुँदै मर्स्याङदीसम्म पुगेर सम्पूर्ण हुन्छ। पर्यटन बोर्डसँग समन्वय गरी यसको डीपीआर तयार गरी कार्य अगाडि बढाइएको छ,’ उनले भने। ऐतिहासिक र धार्मिक महत्व बोकेको यस पोखरीको संरक्षणका लागि डिभिजन वन कार्यालयले केही कार्यक्रम अघि सारेको छ।
पोखरी संरक्षणका लागि ढुङ्गाको गारो लगाउने र सरसफाइ गर्ने योजना सञ्चालनमा रहेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले जानकारी दिए। सिमसार क्षेत्र र पर्यापर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम रूपमा सञ्चालन गरिएको र नयाँ फुट ट्रेल, बस्ती क्षेत्र लगायत पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए।






