मङ्गल ग्रह अभियानकी भारतीय ‘रकेट महिला’ले लगाएको सारी अमेरिकास्थित सङ्ग्रहालयमा प्रदर्शित

लेख जानकारीनन्दिनी हरिनाथले भारतीय अन्तरिक्ष वैज्ञानिक कार्यालयमा चम्किलो रातो र निलो सिल्कको सारीमा पुगेको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनको रूपमा सम्झिने बताइन्। उक्त सारीलाई अहिले वासिङ्टनस्थित स्मिथसोनियनको न्याश्नल एअर एन्ड स्पेस सङ्ग्रहालयमा गर्वका साथ संरक्षित गरिएको छ। भारतको पहिलो मङ्गल ग्रह अर्बिटर मिसन, मङ्गलयानकी उप-सञ्चालन निर्देशक नन्दिनीले यो सारी सन् २०१३ डिसेम्बर १ तारिखमा लगाएकी थिइन्। नन्दिनी प्रायः भारतको अन्तरिक्ष निकायको प्रतिनिधित्व गर्दा वा कुनै विशेष अवसरमा आफ्नो पिताले दिएका सिल्कको सारी लगाउने गर्छिन्। यो अभियानका सबैभन्दा महत्त्वपूर्ण दिन भएकोले उनलाई लागि उक्त सारी सबैभन्दा उपयुक्त विकल्प थियो।
नन्दिनी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) का अन्य वैज्ञानिकहरू अन्तरिक्षयानलाई पृथ्वीको कक्षबाट बाहिर तान्ने र मङ्गल ग्रहको ३०० दिन लामो कक्षमा पठाउने काम कन्ट्रोल रुमबाट गरिरहेका थिए। “त्यो गर वा मरको क्षण थियो, मिशनको सबैभन्दा महत्त्वपूर्ण अपरेसन,” सन् २०१६ मा अन्तर्वार्तामा नन्दिनीले भनिन्, “हामीले निर्णय गर्नुपर्थ्यो अन्तरिक्षयान कहाँ, कसरी र कहिले जान्छ। हाम्रो निर्णयले यो अभियानको सफलता निर्धारण गर्थ्यो।” मङ्गलयानलाई सन् २०१४ सेप्टेम्बर २४ मा सफलतापूर्वक मङ्गल ग्रहको कक्षमा राखियो। यस सफलता संग भारत चौथो राष्ट्र र यो क्षेत्रकै पहिलो राष्ट्र बनेको थियो।
त्यो दिन नन्दिनी र अन्य महिला अन्तरिक्ष वैज्ञानिकहरूले सारी लगाएर इस्रो कार्यालयमा उत्सव मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो र उनीहरू विश्वभर चर्चित बने। यसले भारतमा रकेट विज्ञान पुरुषहरूले मात्रै गर्ने भन्ने विश्वासलाई चुनौती दियो। इस्रोले पछि स्पष्ट पारेको थियो कि ती उत्सव मनाउने महिलाहरू प्रशासनिक कर्मचारी मात्र नभएर मिसनमा संलग्न थुप्रै महिला वैज्ञानिक पनि थिए र सबै कन्ट्रोलमा थिए। स्मिथसोनियन संग्रहालयका अन्तरिक्ष इतिहास क्यूरेटर म्याट शिन्डेलले अमेरिकाबाट बताए अनुसार तस्बिर “निकै आकर्षक” छ।
“मलाई लाग्यो यो कथा भन्नको लागि उपयुक्त हुनेछ जब यी ‘रकेट महिला’हरू यो महत्वपूर्ण अभियानको केन्द्र र अग्रभागमा थिए।” सन् २०२० मा शिन्डेलले नन्दिनीलाई इमेलमार्फत सम्पर्क गरी भारतको मङ्गल अभियान प्रतिनिधित्वमा के कुराले राम्रो गर्छ र नन्दिनीको भूमिका के हो छलफल गरे। “मैले उनलाई कुन वस्तु राख्न चाहन्छे थाहा पाउन सोधेँ। हामी मङ्गलयानले पृथ्वीको कक्ष छोडेको दिन लगाएको सारी राख्नेमा सहमत भयौँ,” शिन्डेलले बताए।
स्मिथसोनियनमा हरेक हप्ता १० हजार बढी व्यक्तिहरू भ्रमणका लागि आउँछन् जहाँ भारतका अन्य धेरै संग्रहहरू पनि छन् तर ती मुख्यतया एयर फोर्स र विमान कम्पनीका छन्। त्यहाँ चाँदीको किस्ती पनि छ जुन सन् २००७ मा वैज्ञानिक कथाकार आर्थर सी क्लार्कको ९० औं जन्मदिनको अवसरमा इस्रोले प्रदान गरेको थियो। “तर नन्दिनीको सारी हाम्रो विज्ञान संग्रहमा राखिएको पहिलो वस्तु हो र पहिलो सारी पनि,” शिन्डेलले भने। यो सारीलाई एयर एन्ड स्पेस सङ्ग्रहालयको “फ्यूचर्स इन स्पेस” अन्तर्गत प्रदर्शनीका लागि राखिएको छ जहाँ यसका साथै खेलौना, खेल र चलचित्रका पोस्टरहरू प्रदर्शनमा छन्। अमेरिकी पहिलो महिला अन्तरिक्ष यात्री साली राईडले सन् १९८३ को स्पेस शटल अभियानमा लगाएको निलो टि-सर्टसँगै यो सारी राखिएको छ।
शिन्डेलले भने, “यस प्रदर्शनको उद्देश्य अन्तरिक्षमा भएका हालका घटनाहरू र भविष्यमा हुन सक्ने घटनाबारे आगन्तुकलाई जानकारी गराउनु हो।” “हामीसँग अन्तरिक्षबारे धेरै प्रश्नहरू छन् र यो प्रदर्शनले भ्रमणमा आउनेहरूलाई ती प्रश्नहरू सोध्न उत्प्रेरित गर्दछ: अन्ततः स्पेसमा को जाने, कसले निर्णय गर्छ? हामी किन जान्छौं? र त्यहाँ पुगेर के गर्छौं?” यो प्रदर्शनी किन राखियो भन्ने सवाल र यहाँ राखिएका वस्तुहरूले अन्तरिक्षतर्फ प्रेरणा दिने विश्वास गरिएको छ। शिन्डेलका अनुसार नन्दिनीको सारी दुईवटा प्रेरणा दिन्छ। “पहिलो, यो भारतको पहिलो मङ्गल ग्रह अभियान र देशको सफल अन्तरिक्ष कार्यक्रममा राष्ट्रिय गौरवको प्रतीक हो। दोस्रो, नन्दिनीको व्यक्तिगत कथा हो जसले धेरैलाई विज्ञान क्षेत्रमा करियर बनाउन प्रोत्साहन दिन्छ।”
सारीको सांस्कृतिक महत्व र यसको सहज परिचययोग्यतालाई ध्यानमा राख्दै यो साँस्कृतिक वस्तु चयन गरिएको हो। प्रदर्शनीले आगन्तुकहरूलाई थप जानकारीको लागि टचस्क्रिन प्रयोग गर्न उत्साहित बनाउँछ। “म धेरै खुशी छु किनभने यहाँ आउनेहरूले सारी हेरिरहेका छन् र यसको बारेमा जान्न इच्छुक छन्। यो हाम्रो संग्रहमा थपिएको एउटा अद्भुत कुरा हो,” शिन्डेलले भने।






