
२०७८/७९ मा नेपालमा २५०७ बलात्कारका घटना दर्ता भएका थिए, जसमा धेरै महिला तथा बालिका पीडित छन्। बलात्कारका घटनामा दोषी पुरुषहरूमा पिता, दाइ, पति, शिक्षक लगायत नाता भएका व्यक्तिहरू पनि छन्। पुरुषप्रधान सोच, सामाजिक संरचना र न्याय प्रणालीमा सुधार आवश्यक रहेको छ भन्ने आवाज उठाइएको छ। २७ जुलाई २०१८ मा, १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार गरी हत्या गरिएपछि ऊखु झाडीमा फालियो। ३ फेब्रुअरी २०२१ मा १७ वर्षीया किशोरी भागिरथी भट्ट बलात्कारपछि हत्या गरी जंगलमा फालिएको घटना याद गर्ने हो भने, २३ भाद्र २०८२ मा १६ वर्षीया किशोरी ईनिशा विकको मृत शरीर वीरेन्द्रनगरको जंगलमा भेटिएको थियो जसको मृत्यु जबरजस्ती करणीपछि अत्याधिक रक्तश्रावको कारण भएको थियो। आर्थिक वर्ष २०१९–२० को नोभेम्बर महिनामा मात्र आठ बलात्कारका घटना दर्ता भएका थिए जसमा ११ वर्षीया, ७ वर्षीया, १३ वर्षीया र ३ वर्षकी बच्ची समेत पीडित थिइन्। यी क्रुर अपराधमा संलग्नहरू ६० वर्षीया देखि १६ वर्षीया किशोरसम्म रहेका छन्। कतिपय पीडितका आफ्नै पिता समेत छन्। यी त बाहिर आएका घटनाहरू मात्रै हुन्, लुकेका घटनाहरू अझ धेरै हुनसक्ने अनुमान लगाउन सकिन्छ। अब महिला बलात्कार हुनबाट कहाँ बाँकी रहेला र कुन सम्बन्ध अछुतो होला? उमेरको कुनै सिमा लगभग नदेखिन्छ, सम्बन्धको मर्यादा पनि लगभग समाप्त भइसकेको छ। विश्वासको घाँटी पहिले नै रेटिएको छ। घर होस् या विद्यालय, मन्दिर होस् या बाटो, बाउ होस् या दाइ, प्रेमी होस् या श्रीमान् — एक महिलाले कसलाई आँखा चिम्लेर विश्वास गर्न सक्छिन्? दोषी को हो? के महिला भएर जन्मिनु नै अभिशाप हो? के के कुरामा अझै एक छोरीले संघर्ष गर्नुपर्छ? छोरी भएर जन्मने बेला नै आमाको गर्भमा संघर्ष, भाग्य वा दुर्भाग्य भन्नुस्, समाजका पुरुषबाट आफूलाई जोगाउन संघर्ष, जहाँ ‘पुरुष’ भन्ने शब्दले नै मनमा कटुता ल्याउँछ। कहिलेकाहीं यस्तो महसुस हुन्छ कि समाजमा नराम्रा पुरुष मात्रै छैनन्। तर सत्य यथार्थ यही छ कि समाजका पुरुषमध्ये एक पुरुष महिलामाथिको बलात्कारी हुन सक्छन्। तर फेरि प्रश्न आउँछ — यी सबै बलात्कारमा दोषी को हो? हामी जस्तो समाजमा यस्ता अमानवीय क्रुर अपराध भईरहँदा पनि दोषीलाई प्रश्न गर्ने ठाउँमा महिला नै हुनुपर्छ भन्ने राजनीतिक र सामाजिक सोच कहिले बदलिएन। ‘कोसँग हिँडेको थिइ?’ ‘किन एक्लै हिँडेको थिइ?’ ‘कस्तो लुगा लगाएकी थिइ?’ ‘तिम्रो ब्वाइफ्रेन्ड थियो कि थिएन?’ ‘के काम गर्थी?’ यस्ता प्रश्नहरूले पीडितलाई थ्याहा हुन्छ कि दोष उनीहरूको लुगामा वा व्यवहारमा मात्र हुने हो। ४० वर्षका बुबाले आफ्नै किशोरी छोरीलाई बारम्बार बलात्कार गर्दा (ललितपुर) जब छोरीले छोटो लुगा लगाइन्, त्यो बुबाको कामुकता समेत जाग्यो? धेरै अनुसन्धानले देखाएको छ कि यौन चाहनाले मात्र बलात्कार हुने हुँदैन। कसरी लुगा दोषी बन्न सक्छ? संसारमा जीवन बचाउने प्रतिज्ञा गरेर चिकित्सक बनेकी छोरी आफ्नो ड्युटीमा सेतो एप्रन लगाइरहेकी बेला बलात्कारपछि हत्या हुन्छ? काम कसरी दोषी बन्न सक्छ? तर बुद्धिजीविहरू अझै पनि महिलाको लुगाको लम्बाइबाट बलात्कार घट्ने भन्ने भ्रममा छन्। आज एक महिला आफ्नै पिता, दाइ, भाइ, पति, प्रेमी, शिक्षक वा आफूलाई विश्वास लाग्ने कुनै नाताको मानिसबाट बलात्कार हुँदा कुन सम्बन्ध र नाता पवित्र रहन्छ? ‘म’ समस्यामा छु भन्न कहाँ जाने? ‘म’ पीडित हुँ भनेर कसलाई निर्धक्क भनी सुनाउने ठाउँ कहाँ छ? नेपालमा दिनहुँ औसत ७ महिला र बालिका बलात्कृत हुन्छन्। आर्थिक वर्ष २०८०/८१ मा २५०७ बलात्कारका घटना दर्ता भएका थिए। यी केवल संख्या होइनन्। ती रित्तिएका कोखका रोदन, उजाडिएका जिन्दगीका आँसुहरू हुन्। बलात्कार शारीरिक चोट मात्र होइन, यो आत्मसम्मानको निरन्तर दिनहुँको यातना हो। पीडितहरूले भोग्ने ‘पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर’, चिन्ता, डिप्रेसन जस्ता समस्याहरू कसरी बुझ्ने? हाम्रो समाज जसले घाउमा मलहमको सट्टा नुन छर्छ। आफ्नो स्वीकृति बिना शरीरमा कुनै पुरुषले आफ्नो काम सिद्ध गर्न पाउनु जीवनलाई क्षतिग्रस्त बनाउने घडी हो। यसलाई सहेर बाँचिरहेकी महिलाको मनमा के हुँदो होला? त्यही अपराधी खुलेर समाजमा हिँडिरहेको देख्दा पीडितलाई के कस्तो महसुस होला? नेपालको संविधान तथा फौजदारी संहिता २०७४ अनुसार कडाइका साथ सजाय तोकिएको छ, तर त्यो कागजबाट बाहिर आएजस्तो लाग्दैन। एक स्त्री जन्मने कोखलाई नै बलात्कार गर्ने मान्छे कस्तो सोच राख्छ? उनीहरूको दृष्टिमा महिला मानव होइन, केवल भोगबलासको वस्तु हुन्? देवीलाई पूजा गर्ने समाजका स्वयं ती महिलामाथिको जघन्य अपराधमा चुप लागेर किन बस्छन्? कहाँ चुक्यो हाम्रो समाज? बलात्कारका विरुद्ध न्याय माग्न सडकमा आउने महिलामध्ये केही फेरि अपराधी बन्ने परिस्थिति, अनि न्यायको माग गर्ने महिलामाथि नै हिंसा। हामी कहाँ अड्किएका छौं? विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक ३ मध्ये १ महिला यौन हिंसाको शिकार बनेकी हुन्छिन्, तर यी सबै घटनाहरु बाहिर आउँदैनन्। आफैं बलात्कृत भएकाहरूको पीडा त छ नै, मन खोलेर रुन नपाउने अवस्थासम्म हुन सक्छ। विभिन्न अनुसन्धान अनुसार यौन चाहना मात्र बलात्कारको कारण होइन। पुरुषप्रधान सोच, पुरुष विशेषाधिकार, महिलाको अमानवीकरण, पुरुष प्रभुत्वको सामान्यीकरण र सामाजिक संरचनाले बलात्कारका मुख्य कारणहरू हुन्। यसले देखाउँछ कि ‘पुरुष’लाई शक्तिशाली देखाउने हाम्रो सामाजिक व्यवस्थालाई फेरि समीक्षा गर्न आवश्यक छ। घरमा एउटै उमेरका छोरा र छोरी हुँदा छोरा माथि प्रश्न उठ्दैन, तर छोरीलाई ‘तिमी त छोरी हौ’ भन्ने बचनले पुरुषप्रधान व्यवस्थालाई समर्थन गर्छ। आमाले छोरीलाई कर्तव्य बोध गराउँदा बाबाले छोरालाई जिम्मेवारी सिकाउन छुट्छन् भने त्यो समाजमा पुरुषवादी प्रभाव बढ्छ। म यस्तो समाज देख्न चाहन्छु जहाँ रातिको ८ बजे घर बाहिर एक महिला निडर भएर हिँड्न सक्छिन्। जहाँ २१-२२ वर्षीया छोरी घर बाहिर निस्किँदा आमाले ११-१२ वर्षको भाइसँग जान नट्याउँछिन्। जहाँ घरबाट बसमा घर जानु पर्दा बाबाले छोरीसँग केटा छ कि केटी छ भनेर सोध्नु पर्दैन। के यस्तो सम्भव छ? के हामीले चाहेको परिवर्तन यस्तो सपना देख्न हामीलाई अधिकार छ? हेलो सरकार! म एक महिला हुँ, मलाई स्वतन्त्र र सुरक्षित भएर बाँच्न अधिकार छ!






