Skip to main content

हावाहुरीले दाङमा दुई बिघा केराखेती पूर्ण रूपमा नष्ट

२० वैशाखमा आएको ठूलो हावाहुरीले दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरमा अवस्थित दुई बिघा केराखेतीलाई पूर्ण रूपमा नष्ट पारेको छ। हुमबहादुर केसीले भाडामा लिएको १० बिघा जमिनमा कृषिकर्म गर्दै आएका थिए, तर बीमा नहुँदा ठूला नोक्सानी बेहोरिरहेका छन्। केसीले चार जना स्थानीयलाई रोजगारी प्रदान गरेका छन् र जापानबाट फर्केर स्वदेशमै कृषिमा जुटेका छन्। २३ वैशाख, दाङ। २० वैशाखमा आएको प्रचण्ड हावाहुरीले घोराही उपमहानगरपालिका–१२ को दुई बिघा केराखेती पूर्ण रूपमा नष्ट गरेको छ। घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको केराका बोटहरू हावाहुरीले सबै नष्ट गरेको जानकारी केसीले दिएका छन्। बिक्रीको तयारी अवस्थामा रहेको केराखेती नष्ट भएको उल्लेख गर्दै उनले यसको ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए। माध्यमिक विद्यालय हापुर रतनपुरको १० बिघा जमिन भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक कृषिकर्म गर्दै आएका केसीले बीमा नगरेको कारण ठूलो घाटा व्यहोर्नुपरेको बताए। उनले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती गर्दै आएका थिए, जसमा दुई बिघा पूर्णरूपमा नष्ट भएका छन् भने बाँकी दुई बिघामा आंशिक क्षति पुगेको छ। केसीले चार बिघामा केराखेतीका साथै तीन वटा खोरमा करीब तीन हजार ब्रोइलर कुखुरा पालन र बाँकी जमिनमा मकै तथा खुर्सानी खेती पनि गरेका छन्। जापानको चार वर्षे बसाइँ छोडेर स्वदेशमै केही गर्न चाहेका केसीले कृषक क्षेत्रलाई समर्पित भएर चार जना स्थानीयलाई रोजगार समेत दिएका छन्।