केही दिनअघि धनगढीस्थित शिवपुरी धाम मन्दिर नजिकै एउटै कुकुर झोलाभित्र राखेर फालिएको अवस्थामा भेटिएको थियो। उक्त कुकुरलाई झोलामा राखेर टाइट गरी मुख टन्टनीले बाँधिएको थियो। मर्नु र बाँच्छुको अवस्था बीचमा परेको ती कुकुरलाई प्रहरीले उद्धार गरी कुकुरधनीमा बुझाएको थियो। उक्त कुकुरले कुनै पनि दुर्भावनापूर्ण व्यवहार वा मानिसलाई टोकेको थिएन। उल्टो, त्यो कुकुर डिस्टेम्पर नामक रोगबाट पीडित थियो। यसरी झोलामा राखेर एक्लो स्थानमा फालिएको खबर स्थानीय स्रोतहरूले दिएका छन्। कुकुरधनीले कुकुरलाई जिम्मा लिए पनि थप उपचार नगराएको जनाइएको छ।
पशु कल्याणमा कार्यरत ऋतिका गुरुङले कुकुरलाई औषधि उपचार गराइरहेकी थिइन्। तर अन्ततः कुकुरलाई बचाउन सकिएन। ऋतिकाले भनिन्, ‘हिजो र आज बिदाका कारण उजुरी लिन सकेका छैनौं। भोलि उजुरी गरी आवश्यक कारबाही अगाडि बढाइनेछ।’ धनगढीमा कुकुरमाथि भएका क्रुरताका घटना सार्वजनिक भएपछि एक दिन नपुग्दै दमक–८ क्षेत्रको निर्माणाधीन भवनमा अर्को कुकुरलाई झुण्ड्याएर मारेको घटना सार्वजनिक भएको छ।
स्थानीयहरूले बताएका अनुसार सो कुकुरले एक बालकलाई टोकेको आरोपमा यस्तो कदम चालिएको हो। कुकुरले बालकलाई टोकेको घटना पश्चात उनीहरूले दमक नगरपालिकासँग व्यवस्थापनका लागि सहयोग मागेका थिए। तर नगरपालिकाले ‘आफैं व्यवस्थापन गर्नुस्’ भनेर इन्कार गरेपछि सो कुकुरलाई झुण्ड्याएर मारिएको पशु कल्याण क्षेत्रमा कार्यरत इरफान खानले बताएका छन्। उनले भने, ‘हामीले यस विषयमा प्रहरीले कारबाही गर्न आग्रह गरिसकेका छौँ।’ साथै ‘प्रहरीले आवश्यक कानुनी प्रक्रिया गर्ने प्रतिबद्धता जनाएको छ।’
यसअघि बढिरहेको सामुदायिक कुकुरमाथिको अत्याचारमा प्रहरीबाट छिटो उजुरी नलिनु र उजुरी आए पनि कारबाही नहुनु प्रति पशु अधिकारकर्मी एलिना प्रसाईंले गुनासो व्यक्त गरेकी छिन्।
एलिना विराटनगरस्थित एलिनाज एनिमल प्रिजरभेन्सन नेपालकी अध्यक्ष हुन्। उनले भनिन्, ‘सडक कुकुरले टोकेमा रेबिज लाग्ने भयावह धारणा भएका कारण सडकका कुकुरलाई मार्ने र लखेट्ने कार्य सामान्य व्यवहारजस्तै भइसकेको छ।’ उनको अनुसार दैनिकजसो कुनै न कुनै कुकुरमाथि हिंसा भइरहेकाले यस्ता प्रवृत्तीमा सुधार आवश्यक छ।

