सिड्नीका सार्वजनिक स्थलहरूमा स्मार्ट चस्मा प्रयोगमा प्रतिबन्ध लगाइयो

सिड्नी नगर परिषद्ले सार्वजनिक ठाउँहरूमा स्मार्ट चस्मा प्रयोगमा प्रतिबन्ध लगाएको छ। यो निर्णय व्यक्तिगत गोपनीयता सुनिश्चित गर्न र अनधिकृत भिडियो रेकर्डिङलाई रोक्न सर्वसम्मत रूपमा लिइएको हो। नयाँ नियम अनुसार सिड्नीका स्विमिङ पुल, पुस्तकालय, जिम, बाल हेरचाह केन्द्र र टाउन हलहरूमा स्मार्ट चस्मा लगाउन नपाइनेछ।
स्मार्ट चस्मामा जोडिएको क्यामेराबाट अरूको जानकारी वा सहमतिबिना तस्बिर तथा भिडियो खिच्न सकिन्छ, जसले विशेषगरी महिला र बालबालिकाको गोपनीयता जोखिममा पार्ने नगर परिषद्को निष्कर्ष छ। सिड्नी नगर परिषद्का ग्रीन काउन्सिलर म्याथ्यु थम्पसनले विदेशमा स्मार्ट चस्मामार्फत महिलामाथि लक्षित दुर्व्यवहार र लुकेर भिडियो रेकर्ड गर्ने घटना बढेकाले पूर्वसावधानीका रूपमा यस्तो निर्णय गरिएको बताएका छन्।
‘विदेशमा महिलामाथि लक्षित दुर्व्यवहार र सहमति बिना रेकर्ड गरिने घटना देखिएका छन्, अमेरिकी अवस्थामा जस्तै स्थिति हामी यहाँ दोहोरिन चाहँदैनौं,’ उनले भने। प्रतिबन्ध सम्बन्धी विषयलाई सर्वसाधारणमा समेत जानकारी गराउन सार्वजनिक स्थानहरूमा सूचना बोर्ड र सम्बन्धित निर्देशनहरू अपडेट गरिने नगर परिषद्ले जनाएको छ। तर दृष्टि सम्बन्धी समस्या भएका, बहिरा वा सुनाइ कम हुने व्यक्तिहरूका लागि स्मार्ट चस्मा प्रयोग अनिवार्य परेमा विशेष छुटको व्यवस्था गरिएको छ। प्रविधिको प्रवर्द्धन र व्यक्तिगत गोपनीयताको संरक्षणबीच सिड्नीको यो कदमले नयाँ बहसलाई पनि जन्म दिएको छ।






