Skip to main content

मैले चिनेका मोहनविक्रम सिंह र ‘जलजला’ उपन्यासमा भेटिएका कमरेड अजित

‘जलजला’ उपन्यास नेपालका वरिष्ठ कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी दिवंगत प्रेमिका विद्या ढकाल (जलजला) सँगको प्रेमकथामा आधारित छ। १३२० पृष्ठको ‘का. जलजला’ उपन्यासमा मोहनविक्रमकै जीवन, वैचारिक निष्ठा, मार्क्सवादी दर्शन र प्रेमको अमरतालाई मुख्य विषय बनाइएको छ। उपन्यासले पञ्चायतकालीन प्युठान र रोल्पाको थवाङमा भएको भूमिगत कम्युनिष्ट आन्दोलन, वर्ग सङ्घर्ष र महिला स्वतन्त्रताको पक्षलाई व्यापक रूपमा उठाएको छ। यो उपन्यास मोहनविक्रमकी हालकी श्रीमती दुर्गा पौडेलद्वारा प्रकाशित भएको हो।

नेकपा (माले) को राजनीति सुरु गर्दा हामी कम्युनिस्ट आन्दोलनबारे अधकल्चो बुझ्दै थियौं। त्यो समय ‘नेकपा माले’ माथि उठिरहेको र ‘नेकपा मशाल’ले आफ्नो शक्ति जोगाउन संघर्ष गरिरहेको स्थिति थियो। यी दुई शक्तिशाली कम्युनिस्ट घटकबीच साम्राज्यको जस्तो शीतयुद्ध चलिरहेको थियो। २०३९ सालतिर एउटा चर्चा व्यापक थियो – ‘कमरेड जलजला (विद्या ढकाल) र कमरेड मोहनविक्रम सिंहबीच प्रेमको आरोपमा मशालले कारबाही गरेको छ। मोहनविक्रमलाई महामन्त्रीबाट हटाइएको थियो।’ त्यही बेला जलजलाको दिल्लीमा एक्सिडेन्टमा मृत्यु भएको समाचार पनि आयो।

म ‘जनआस्था’ साप्ताहिकमा नियमित ‘कोलम’ लेखेकी थिएँ। त्यो बेला मोहनविक्रमले कमरेड दुर्गा पौडेलसँग बिहे गरेका थिए। पत्रकार खगेन्द्र सङ्ग्रौलाले मोहनविक्रमको बिहेलाई खिसिटिउरी गरिसकेको म आफूले त्यसको खण्डन गर्दै लेखेँ कि अब उनी कान्छी पत्नीको सहयोगमा राजनीति गर्नेछन् र वृद्धावस्थामा पनि सुरक्षित हुनेछन्।

उपन्यासमा मोहनविक्रम सिंह (अजित) र विद्या ढकाल (जलजला) बीचको प्रेमकथा छ जो पञ्चायतकालको भुमिगत कम्युनिष्ट आन्दोलनसँग जोडिन्छ। जलजलालाई पहिला विद्याको नाम कमरेड अजितले राखेका थिए। पहिलो पत्नीबाट अलग हुँदै, अजितले जलजलाको प्रतिभा, रूप, र क्रान्तिप्रतिको समर्पण देखेर प्रेम गर्छन्। जलजला पनि उहाँलाई प्रेम गर्थिन् र पार्टीका भूमिगत कार्यमा सक्रिय थिइन्।

उपन्यासमा कारवाही, प्रेमका दुखद पक्ष दर्शाइएको छ। बन्धन र वैवाहिक मूल्यहरूलाई चुनौती दिएको छ। दोस्रो: मार्क्सवादी दर्शन, सामाजिक क्रान्तिमा अटुट विश्वास र पार्टीप्रतिको निष्ठा। तेस्रो: नारी केन्द्रित कथा। महिला पात्रहरूलाई साहसी, वीर र क्रान्तिकारी बनाइएको छ।

म नेपाली समाज र यसको राजनीतिक इतिहासमा रुचि राख्ने पाठक हुँ। मोहनविक्रमलाई बाहिरबाट हेर्दा कठोर र कट्टर कम्युनिस्ट लाग्छन्, तर जे पढ्दा गहिरो मानवतावाद प्रकट हुन्छ। यो पुस्तक पढ्न सजिलो र छिटो बुझ्न सकिने छ।