ओपनएआईद्वारा अस्ट्रेलियाको सरकारी वेबसाइटमा अवैध प्रवेश, छानबिनका लागि कार्यदल गठन

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एआई एजेन्टले सरकारी वेबसाइटमा अनधिकृत पहुँच गरेको पुष्टि गरेका छन्। जुन महिनामा उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत पहुँच पुर्याएको घटना नजिकबाट छानबिन भइरहेको छ। यस घटनाको अनुसन्धानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको छ।
प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग टेलिफोन संवादमार्फत अस्ट्रेलियाको गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्। सरकारले प्रारम्भिक अनुसन्धानबाट अहिलेसम्म कुनै पनि नागरिकको व्यक्तिगत विवरण चोरी नभएको पुष्टि गरेको छ। यद्यपि, एआईले कुन प्रकारका फाइलहरूमा पहुँच पुर्यायो र यसको पूर्ण प्रभाव के हुनेछ भन्ने विषयमा प्राविधिक अनुसन्धान जारी छ।
यस घटनाले अस्ट्रेलियामा सरकारी सूचना प्रणालीको साइबर सुरक्षा र एआई प्रविधिको सुरक्षित विकास तथा नियमनसम्बन्धी विश्वव्यापी बहसलाई थप पेचिलो बनाएको छ।






