रेबिज खोपको अभाव: अस्पतालहरूले ‘पैँचो र सिधा खरिद गरेर’ समस्या समाधान गर्दै
पछिल्ला केही दिनदेखि रेबिज बिरुद्धको खोप अभाव भइरहेका विवरणका बाबजुद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ताले त्यसको भण्डारणमा “पूरै रित्तिएको अवस्था नरहेको” दाबी गरेका छन्। तर अधिकारीहरूले पछिल्लो मौजुदा खोपको विवरण भने सार्वजनिक गरेका छैनन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत साता बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा तत्कालीन अवस्थाको जानकारी दिएकी थिइन्। त्यसबेला उनले देशभर १४ हजार ४७४ भाइल रेबिज खोप मौजूद रहेको उल्लेख गरेकी थिइन्। मङ्गलवार बीबीसीसँग कुरा गर्दै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी भण्डारणमा “केही मात्रामा खोपहरू रहेको र ती प्रयोग भइरहेको” बताए।
“खोप खरिदका बोलपत्र आह्वानका क्रममा अघिल्ला दुई पटक आवेदन नपरेपछि तेस्रोपटक प्रक्रिया अघि बढेको छ। यो अन्तिम चरणमा पुगेको छ र त्यसपछि सम्भवत: चाँडै आउँछ,” सहप्रवक्ता अधिकारीले भने। नेपालमा रेबिजका कारण काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पछिल्ला दुई वर्षमा २६ जनाको मृत्यु भएको बताएको छ। नेपालमा वार्षिक करिब १०० जनासम्म रेबिजका कारण मृत्यु हुने सरकारी विवरणमा उल्लेख छ। सबै रेबिजका घटना तथ्याङ्कमा नपर्न सक्ने समेत बताइन्छ। नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट फैलने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ।
सङ्क्रमित कुकुर वा अन्य जनावरले टोकिसक्दा समेत समयमै खोप लगाएर बच्न सकिने रोग भएता पनि त्यसकारण मानिसहरूमा मृत्यु हुने अवस्थालाई चिकित्सकहरूले “निकै दुर्भाग्यपूर्ण” भन्दै चिन्ता व्यक्त गर्छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै स्वास्थ्यमन्त्री मेहताले तत्कालको अभाव पूर्ति गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मार्फत् झण्डै ४,५०० भाइल रेबिज खोप सहायता स्वरूप प्राप्त हुने प्रक्रियाको अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन्।
सहप्रवक्ता अधिकारी बताउँछन्: “हाल विश्व बजारमा मूल्य वृद्धिका कारण हमीले तोकेको दररेटमा खोप ल्याउन व्यवसायीहरूले नसकेको हुँदा सम्भवत: त्योभन्दा धेरै दरमा आवेदन दिइएकोले खोप समयमा नआएको हो।” तर आकस्मिक अवस्था टार्नका लागि अस्पतालहरूले सिधै खरिद गर्न सक्ने गरी बजेटको व्यवस्था गरिएको डा अधिकारीले बताए। “उच्च लागत र ठूलो परिमाणको खरिद गर्न सार्वजनिक खरिद ऐन अन्तर्गत व्यवस्था गर्नुपर्ने भएकाले समस्या देखिएको हो,” उनले थपे। “अभाव हुँदा छिमेकी अस्पतालहरूले पैँचो लिएर व्यवस्थापन गर्ने प्रबन्ध पनि छ।”
चिन्ताटेकु अस्पताल, अर्थात शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नेपालकै प्रमुख सरुवा रोगसम्बन्धी उपचार केन्द्र हो। अस्पतालका निर्देशक डा अनुप बास्तोलाले दैनिकजसो औसत ६०० देखि ७०० जना मानिसहरू रेबिज खोप लगाउन आउने गरेको र केही महिनाहरूमा २० हजारभन्दा बढी खोप लगाइएको बताउँछन्। स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा ९९ प्रतिशत रेबिज घटना परपालुवा जनावर कुकुरको टोकाइबाट हुन्छ। अन्य घटना स्याल र फ्याउरो जस्ता जनावरबाट टोकाइका कारण हुने पाइएको छ।
डा बास्तोलाका अनुसार, “जब रेबिजको लक्षण लिएर बिरामी आउँछन्, तब उनीहरूको मृत्यु हुने सम्भावना धेरै हुन्छ। धेरै हालतमा मानिसले सुरुदेखि नै हेलचेक्र्याइँ गर्ने भएकाले मृत्यु भइरहेका छन्।” चिकित्सकहरूले कुकुरले टोकेपछि घाउलाई सकेसम्म चाँडो सफा पानीले धेरै मिनेटसम्म धोउन सुझाव दिन्छन्। रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा एकपटक सङ्क्रमण भइसकेपछि बिरामीलाई बचाउन असंभव हुने चिकित्सकहरूको भनाइ छ। रेबिज भाइरस शरीरभित्र प्रवेश गरेपछि फैलने र लक्षण देखिने अवधि सामान्यतया छ महिनासम्म हुन्छ।
यसले इन्क्युबेशन समयमै भाइरस नष्ट गर्ने र रेबिज लाग्ने सम्भावना कम गर्ने व्याख्या डा बास्तोलाले गरेका छन्। उनले भने, “यसै हप्ता टेकु अस्पतालमा मृत्यु भएका ४८ वर्षीय पुरुषलाई तीन महिनाअघि भारतमा वयस्क कुकुरले र त्यसपछि नेपालमा छाउराले टोकेको विवरण प्राप्त भएको छ। यहाँको कुकुर जीवित भएकाले भारतमा भएको टोकाइबाट रेबिज सर्न सक्ने शक्यता छ। लक्षण देखिएपछि उपचारका प्रयासहरू भए पनि ज्यान जोगाउन सकिएन।

