“एक त बिरामीको अवस्था अर्को अत्यावश्यक औषधि नपाइने। चिकित्सकहरू औषधि तत्काल चाहियो भन्छन्, हामीले कताबाट ल्याउनु। एकदमै कठिन भयो,” हालै क्यान्सरकी बिरामी आफ्नी आमाको कीमोथेरपी गराउँदा आवश्यक औषधि सहजै भेट्टाउन नसकिएको पीडादायी अनुभव विश्वराज सापकोटाले सुनाए। निश्चित समयमा कीमोथेरापी गराउँदा तत्कालै चाहिने केही आधारभूत औषधि अहिले नेपालमा सहजै उपलब्ध छैन। “आयातकर्तालाई फोन गरेर मात्र पाएँ। बिरामी कस्तो हुन्छ र हामीलाई औषधि कहाँबाट ल्याउने भन्ने चिन्ता दुवै छन्। पीडामा थप पीडा भयो,” सापकोटाले भने।
ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका मेडिकल अन्कोलजिस्ट डा विजेश घिमिरेले आधारभूत औषधि अभावका कारण बिरामीहरूको अवस्था गाह्रो भएको बताए। “कहिले कुन आपूर्तिकर्ताबाट कहिले कहाँबाट मगाएर अस्पतालमा औषधि ल्याइरहेका छौं तर सहज रूपमा उपलब्ध गराउन सकेका छैनौं,” डा घिमिरेले भने। सरकारी अस्पतालहरूमा यो अभाव अझ गम्भीर रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष डा सुदीप श्रेष्ठले बताए। “अहिले सम्म व्यवस्थापन भईरहेको छ तर समस्या छिट्टै समाधान गर्न आवश्यक छ,” उनले भने।
“राज्य निकायहरूले बिरामीको अवस्था आफैं जाँच्न म आग्रह गर्छु। पैसा तिर्दै पनि औषधि नपाउनु कति कष्टकर हुन्छ। एक त रोगको पीडा अर्को त औषधिको अभाव। यसमा तत्काल सचेत हुन जरुरी छ,” सापकोटाले भने।
सापकोटा जस्तै औषधि अभावले पीडित सयौं मानिसहरू आफ्नो सम्पर्कमा आउने गरेको नेपाल औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बताए। अभाव भएका औषधिमा मुख्य रूपमा प्ल्याटिनियमयुक्त कार्बोप्ल्याटिन र सिस्प्ल्याटिन रहेका छन्, जुन कीमोथेरापीमा सुई मार्फत प्रयोग गरिन्छ। विशेषज्ञहरूको अनुसार ६० प्रतिशत क्यान्सर बिरामीमा यी औषधिको प्रयोग हुन्छ। “हामी बिरामीलाई सम्पर्क नम्बर दिएर डाक्टरको सिफारिस अनुसार औषधि उपलब्ध गराइरहेका छौं। तर यसरी व्यवस्थापन दिगो छैन। कारण जसले अभाव गरायो त्यसको सम्बोधन भएको छैन,” आचार्यले भने।
“सरकारले मूल्य समायोजन नगरे हामी थप आयात गर्न सक्दैनौं भनी औषधि व्यवस्था विभागलाई बुधबार जानकारी गराएका छौं। अहिलेको स्टकले मात्रै २०-२१ दिन मात्र टिक्ने देखिन्छ,” उनले बताए। क्यान्सर उपचारमा प्ल्याटिनम धातुका यौगिकहरूको प्रयोग हुन्छ। विज्ञहरूका अनुसार यी यौगिकहरूले क्यान्सर ग्रसित कोषहरूको DNA बाँधेर ती कोषहरूको वृद्धि रोक्छन् र अन्ततः नष्ट गर्छन्।
अभावको कारण के हो अन्तर्राष्ट्रिय बजारमा विभिन्न कारणले प्ल्याटिनमको मूल्य बढेको र मागअनुसार आपूर्ति हुन नसकेको कुरा जानकारहरूले औँल्याउँछन्। आयातकर्ताहरूका अनुसार नेपालमा प्ल्याटिनमयुक्त औषधिको अभावको मुख्य कारण मूल्य समायोजन नहुनु हो। अभाव भएका औषधि लगभग ९० प्रतिशत भारतबाट र केही बंगलादेशबाट आयात गरिन्छ। “नेपालमा यी औषधिको अधिकतम खुद्रा मूल्य सरकारले ११ वर्षअघि निर्धारण गरेको छ, जुन भारतको मूल्यभन्दा कम छ। भारतमा मूल्य वर्षौंमा परिवर्तन हुन्छ। केही हप्ता अघि भारतमा फेरि मूल्य बढेको छ, जहाँ कार्बोप्ल्याटिन १५० एमजीको मूल्य २२८६.८५ रूपैयाँ छ भने नेपालमा १३९३.८७ रूपैयाँ छ। सिस्प्ल्याटिन १५० एमजीको भारतमा १८२.९५ र नेपालमा १४९.८७ रूपैयाँ रहेको छ,” उनले मूल्य अन्तरले आयातकर्ताहरूले थप धान्न नसकेको बताए।
आयातकर्ताहरूले अहिले नाफाभन्दा पनि जनता जीवन जोगाउन औषधि ल्याइरहेको तर तीन सातापछि यो सम्भव नहुने जनाएका छन्। गत बर्ष नेपालमा ती दुई प्रकारका औषधि करिब २५,००० भायल आयात गरिएको थियो।
गत हप्ता संसदमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले उल्लेख गरेकी थिइन्, “विगत दशकदेखि मूल्य समायोजन नभएको र विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध आएका कारण अभाव आएको छ। हामी यसलाई गम्भीर रूपमा लिइरहेका छौं।” उनी दीर्घकालीन समाधान र सहज आपूर्ति सुनिश्चित गर्न “स्वचालित मूल्य प्रणाली बनाउन औषधि परामर्श परिषद्को बैठक एक हप्ताभित्र बस्नेमात्र बाँकी छ” भनी जानकारी दिएकी थिइन्। तर बुधबार बिहानसम्म उक्त बैठक बसेको छैन।
औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले यस विषयमा छलफल जारी रहेको बताए। “सरकारले अधिकतम खुद्रा मूल्य निर्धारण गरेको औषधि भारतको मूल्यभन्दा कम छ, जसले आपूर्तिमा समस्या पारिरहेको छ। प्ल्याटिनम धातुमा आधारित यी औषधिको विश्वव्यापी आपूर्ति श्रृंखला पनि समस्यामा छ,” बज्राचार्यले भने।
विभागले हाल आयातकर्ताहरूलाई अनुरोध गरेर बिरामीहरूले सीधै तिनीहरूबाट औषधि लिन सकिने व्यवस्था गरिरहेको छ। हालै विभागले ११ वटा स्वास्थ्य संस्थाहरू र तिनका सम्पर्ककर्ताहरूको नाम तथा नम्बर प्रकाशित गरी क्यान्सर बिरामीका लागि औषधि उपलब्ध गराउने व्यवस्था गरेको थियो। बिरामीको पुर्ख्यौली कागजसहित ती संस्थासँग समन्वय गरेर औषधि लिने आह्वान समेत गरेको छ।
अवस्था यथावत् रहेमा समस्या झन् जटिल बन्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। “मुख्य अस्पताल वरिपरि हामी मिलाइदिन्छौं भनी औषधि बेच्ने समूह सक्रिय रहेको भेटिएको छ। आधिकारिक नभएका कारण नक्कली औषधि पनि हुनसक्ने खतरा छ। यो समस्या छिटो समाधान गर्न जरुरी छ,” आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले भने।

