Skip to main content

सुपारी र केराउपछि तरबुजा बीउ तस्करीको आशंका, ३ अर्बको आयात कहाँ गएको ?

११ असार, काठमाडौं । विगतका वर्षहरूमा तेस्रो मुलुकबाट सुपारी, केराउ, मरिच र छोकडा आयात गरेर भारततर्फ तस्करी गर्न बिचौलियाहरूको ‘सेटिङ’ चल्ने गर्दथ्यो । सरकारले ती वस्तुहरूको आयातमा कोटा प्रणाली लागु गरेपछि तस्करीको बाटो करिब बन्द भयो । तर, अहिले फेरि बिचौलियाले रातारात करोडौं कमाउन नयाँ वस्तुलाई आफ्नो हतियार बनाएका छन्, ‘खरबुजा–तरबुजाको बीउ ।’ नेपालमा व्यावसायिक रूपमा तरबुजाको खेती कति हुन्छ ? सरकारसँग यसको कुनै खास तथ्यांक छैन । राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा करिब २५ सय हेक्टरमा मात्र तरबुजा खेती हुन्छ र प्रतिहेक्टर ३० देखि ४० टनसम्म उत्पादन हुन्छ । तर, भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ११ महिनामै ‘मेलन सिड’ को नाममा ३ अर्ब रुपैयाँभन्दा बढीको करिब १९ हजार टन खरबुजा–तरबुजाको बीउ आयात भएको छ । जबकि गत वर्ष २०८१/८२ को सोही अवधिमा १४ करोड रुपैयाँ बढीको मात्रै आयात भएको थियो । तर, मसलाबाली विकास केन्द्र प्रमुख पदम अधिकारी भने अहिले यस बीउको माग न्यून रहेको बताउँछन् । नेपालमा खरबुजा–तरबुजाको बीउ मुख्यतया विदेशबाटै आयात हुने गरेको छ । ‘नेपालमा करिब ९ मेट्रिक टन बीउ खपत हुँदो रहेछ, हाइब्रिड बीउ लगाउने हो भने ७ मेट्रिक टनले नै पुग्छ,’ केन्द्र प्रमुख अधिकारीले भने, ‘नत्र ९ मेट्रिक टन जति लाग्छ ।’ अर्बौंको तरबुजाको बीउ भित्रिनुको पछाडि भन्सार छलीको ठूलो खेल रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । तारे होटलका भान्सा, बेकरी, मिठाई, तरकारीको ग्रेभी (रस) र पोषिलो खानेकुरा (कर्नफ्लेक्स आदि) मा प्रयोग हुने बोक्रा छोडाएको बीउ (जसलाई बजारमा मगज वा दिउल भनिन्छ) लाई व्यापारीहरूले भन्सारमा ‘कृषि बीउ’ को नाममा जाँचपास गराउने गरेका छन् । रोप्नका लागि त परै जाओस्, खानकै लागि पनि नेपालमा यति धेरै तरबुजाको बीउ खपत हुने सम्भावना छैन । त्यसो भए अफ्रिका र मध्यपूर्वका देशबाट यो बीउ किन नेपाल ल्याइँदैछ ? यसको एउटै र स्पष्ट जवाफ हो– भारततर्फ तस्करी । भारत सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न विदेशबाट आउने खरबुजाको बीउमा कडा प्रतिबन्ध लगाएपछि बिचौलियाहरूले नेपालको खुकुलो भन्सार नीति र खुला सिमानाको फाइदा लिएको यस क्षेत्रका जानकार बताउँछन् ।