Skip to main content

सन् २०२८ को ओलम्पिक क्रिकेटका लागि ८ टिम छनोट प्रतियोगिता, नेपालको सम्भावना कति?

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट खेलको छनोट प्रक्रिया सार्वजनिक गरेको छ। पुरुषतर्फ टी-२० वरियताका आधारमा चार टोली चयन गरिनेछन् र बाँकी स्थानका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। नेपालले २०२६ को डिसेम्बरसम्म आईसीसी टी-२० वरियताको शीर्ष १२ भित्र पर्न सकेमा मात्र ग्लोबल छनोट खेल्ने अवसर पाउनेछ।

सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिकमा क्रिकेटको छनोट प्रक्रिया सार्वजनिक भइसकेको छ। १२८ वर्षपछि ओलम्पिकमा पुनः समावेश भएको क्रिकेटमा नेपालले पनि ग्लोबल छनोटमार्फत स्थान बनाउने सम्भावना पाएको छ। पुरुष र महिलातर्फ समान रूपमा ६–६ टोली सहभागी हुनेछ भने प्रत्येक टोलीमा १५ खेलाडी रहनेछन्।

पुरुषतर्फ चार टोलीले आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियताका आधारमा प्रत्यक्ष ओलम्पिक यात्रा तय गर्नेछन्। आयोजक राष्ट्र अमेरिकाले भने आईसीसी टी–२० वरियतामा शीर्ष १५ भित्र रहेमा स्वचालित रूपमा एक स्थान पाउनेछ। बाँकी एक स्थानका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ, जसमा वरियताका आधारमा छनोट भएका आठ टोली सहभागी हुनेछन्।

नेपाल हाल आईसीसी टी–२० वरियतामा १५औं स्थानमा छ। सन् २०२६ डिसेम्बर ३१ भित्र शीर्ष १२ वरियताभित्र पर्न सके मात्र नेपालले छनोट प्रतियोगिता खेल्न पाउनेछ। क्रिकेट जुलाई १४ र २१ बाहेक अन्य अधिकांश दिन डबल हेडरको रूपमा सञ्चालन हुने योजना छ।