
प्राचीनकालमा राजपरिवार र उच्च वर्गका महिलाहरूले ओठ सजाउन चुकन्दर, केसर र हेबिसकसजस्ता प्राकृतिक स्रोतबाट प्राप्त रङको प्रयोग गर्थे। आज हामीसँग लिपस्टिक, लिप टिन्ट, लिप ग्लोसजस्ता अनगिन्ती सौन्दर्य सामग्री सहजै उपलब्ध छन्। तर केही शताब्दी पहिले, जब यस्ता आधुनिक कस्मेटिक उत्पादनहरू उपलब्ध थिएनन्, तब ती महिलाले आफ्नो ओठलाई कसरी सुन्दर, गुलाबी र मनमोहक बनाउँथे भन्ने विषयन अध्ययन रोचक हुन्छ। इतिहासले देखाउँछ कि प्राचीन भारतमा सौन्दर्य संवर्द्धनका लागि प्राकृतिक सामग्रीहरूको प्रयोग विस्तार थियो। आयुर्वेदले छाला र ओठको हेरचाहका लागि विभिन्न जडीबुटी, फूल, फलफूल र वनस्पतिबाट बनेका लेप र रङ प्रयोग गरिन्थ्यो। रानी–महारानीहरूले रसायनयुक्त सामग्रीको सट्टा प्राकृतिक रङहरूलाई प्राथमिकता दिन्थे। यी रङहरूले ओठलाई आकर्षक र पोषणयुक्त बनाउने गर्थे। त्यसैले उनीहरूको सौन्दर्यको रहस्य केवल मेकअपमा होइन, प्राकृतिक सामग्रीको नियमित प्रयोग र हेरचाहमा आधारित थियो। यद्यपि आजको स्थायी लिपस्टिक वा लिप टिन्ट उपलब्ध थिएन, प्राकृतिक रूपमा तयार गरिएका यी रङहरूले ओठमा हल्का रातो वा गुलाबी सुमधुर रंग दिन्थे। विशेष अवसर, दरबारका समारोह र धार्मिक अनुष्ठानहरूमा यस्ता प्राकृतिक सौन्दर्य सामग्रीहरूको व्यापक प्रयोग हुन्थ्यो।
प्राचीन कालदेखि नै चुकन्दरलाई प्राकृतिक रङको एक प्रमुख स्रोत मानिएको छ। यसको गाढा रातो रंगले ओठमा हल्का गुलाबी वा रातो टिन्ट प्रदान गर्दछ। चुकन्दरमा बेटालाइन नामक प्राकृतिक रङद्रव्य, साथै भिटामिन–सी र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले ओठलाई सुक्खा हुनबाट जोगाउन र स्वस्थ राख्न मद्दत गर्दछ। आज पनि धेरैले चुकन्दरको रस निकालेर कपासको सहायताले ओठमा लगाउँछन्। केही समय राखेर हल्का पुछ्दा प्राकृतिक गुलाबी रङ प्रकट हुन्छ। केसर, जसलाई राजपरिवारको विलासी सौन्दर्य सामग्री मानिन्छ, विश्वकै महँगा प्राकृतिक मसालामध्ये एक हो। प्राचीन भारत, फारस र मध्य एसियाका राजपरिवारमा यसको प्रयोग खानाका साथै सौन्दर्यका लागि पनि हुन्थ्यो। ऐतिहासिक विवरणअनुसार केही रानी–महारानीहरूले केसरलाई गुलाबजल वा दूधमा मिसाएर अनुहार र ओठमा प्रयोग गर्थे। केसरले हल्का सुनौलो–रातो रंग दिनुका साथै ओठलाई मुलायम राख्न सहयोग गर्ने विश्वास थियो।
गाढा रातो हेबिसकसको फूल पनि प्राकृतिक लिप कलरको रूपमा लोकप्रिय थियो। यसको पात पिसेर वा रस निकालेर ओठमा लगाइन्थ्यो। हेबिसकसमा प्राकृतिक रङद्रव्यसँगै एन्थोसाइनिनजस्ता एन्टिअक्सिडेन्ट पाइन्छ, जसले छालाको स्याहारमा सहयोग पुर्याउँछ। कतिपय स्थानमा हेबिसकसको रसलाई मौरीको मह, घिउ वा तिलको तेलसँग मिसाएर प्राकृतिक लिप बामको रूपमा प्रयोग गर्ने चलन थियो। यसले ओठलाई रंग दिनुका साथै चिरिनबाट बचाउने विश्वास गरिन्थ्यो।
प्राचीन समयमा विभिन्न क्षेत्रमा उच्च वर्ग र राजपरिवारका महिलाहरूले ओठ र छालाको हेरचाहका लागि गुलाबका पत्ता, अनारका बोक्रा वा दाना, मञ्जिष्ठा जस्ता प्राकृतिक रङ दिने वनस्पतिहरू पनि प्रयोग गर्थे। कतिपय प्राकृतिक रङलाई घिउ, तिलको तेल वा मौरीको महसँग मिसाएर दिर्घकालीन टिकाउपनका लागि लगाइन्थ्यो। आज प्रयोग हुने लिपस्टिकको आधुनिक स्वरूप भने १९औँ शताब्दीको अन्त्यतिर विकास भएको मानिन्छ। त्यसअघि विश्वका विभिन्न सभ्यताहरूमा फूल, फलफूल, खनिज तथा वनस्पतिबाट प्राप्त प्राकृतिक रङ प्रयोग गरेर ओठ सजाइन्थ्यो। भारतमा आयुर्वेद र प्राकृतिक उपचारको प्रभावका कारण वनस्पतिजन्य सामग्रीको प्रयोग प्रचण्ड लोकप्रिय थियो। यदि तपाईं रासायनिक लिपस्टिकको सट्टा प्राकृतिक विकल्प चाहनुहुन्छ भने चुकन्दर, केसर वा हेबिसकसबाट बनेका प्राकृतिक लिप कलरहरू प्रयोग गर्न सक्नुहुन्छ। यद्यपि यस प्रकारका प्राकृतिक रङहरू आधुनिक लिपस्टिक जत्तिकै दिर्घकालीन टिक्दैनन् र उनीहरूको रंग पनि हल्का हुन्छ। कुनै पनि प्राकृतिक सामग्री प्रयोग गर्नु अघि एलर्जी वा संवेदनशीलता छ कि छैन भनेर सानो भागमा परीक्षण गर्नु उपयुक्त हुन्छ। यसरी हेर्दा, रानी–महारानीहरूको सौन्दर्य रहस्य महँगा कस्मेटिक उत्पादनमा होइन, प्रकृतिले दिएको रंगीन फूल, जडीबुटी र फलफूलमा लुकेको थियो। उनीहरूले अपनाएका यी प्राकृतिक उपायहरू आज ‘क्लिन ब्यूटी’ र ‘हर्बल स्किनकेयर’ को बढ्दो लोकप्रियतासँग पुनः चर्चामा आएका छन्।






