Skip to main content

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपति यादवले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताएका छन्। राजदूत रहमानले वाणिज्य, शिक्षा र ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने र विद्युत् आपूर्तिलाई ४० मेगावाटबाट ६० मेगावाटमा वृद्धि गर्न आग्रह गरेका छन्। ९ चैत, काठमाडौँ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उपराष्ट्रपति यादव र राजदूत रहमानबीच शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूमा छलफल भएको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रता तथा सौहार्दपूर्ण सम्बन्ध विद्यमान रहेको उल्लेख गर्दै, हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको स्पष्ट पारे।

उपराष्ट्रपति यादवले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालको तर्फबाट उच्च प्राथमिकतामा राखिएको बताए। बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिंदै नयाँ सरकारले कार्य सफलताको शुभकामना दिएका छन्। नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको उल्लेख गर्दै, द्विपक्षीय सहकार्य अझ सुदृढ हुनेमा विश्वास व्यक्त गरे। भेटमा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध जनता–जनताको बीचको विश्वासमा आधारित रहेको र यस सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए। उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने भन्दै, हाल नेपालले ४० मेगावाट विद्युत् प्राप्त गरिरहेको अवस्थामा यसलाई ६० मेगावाटसम्म पुर्‍याउन आग्रह गरे।