
गाउँघरमा आज पनि निकै रोचक किंवदन्ती सुनिन्छ, ‘आकाशबाट चट्याङ पर्दा धरतीमा ढुङ्गे बन्चरो खस्छ।‘ कतिपय ठाउँमा यस्ता ढुङ्गे बन्चरालाई ‘बज्रढुङ्गा’ भनेर जतनपूर्वक सुरक्षित राखिएको पाइन्छ। बाल्यकालमा यस्तो प्रसंग सुन्दा रहस्यमय लाग्थ्यो। हरेक वर्ष चट्याङका कारण विश्वभर दशौं हजार मानिसको ज्यान जाने गर्छ। नेपालमा मकवानपुर जिल्ला सबैभन्दा बढी प्रभावित मानिन्छ भने झापा, उदयपुर, इलाम, मोरङ लगायत अन्य केही जिल्लामा पनि यसको प्रभाव उल्लेखनीय छ। चट्याङले प्रायः अग्ला रुखहरूमा क्षति पुर्याउँछ। हाँगा चिरिन्छन्, रूख ढल्छन् वा ठाडै सुक्छन्। यदि चट्याङसँगै ढुङ्गे औजार खस्ने भए, ती स्थानहरूमा त्यस्ता वस्तुहरू प्रशस्त भेटिनुपर्ने थियो। तर, यस्ता औजार प्रायः दुर्गम वा पुराना बस्ती क्षेत्रमा मात्र भेटिन्छन् र धेरैजसो पुस्तौंदेखि घरमा यसै राखिएका हुन्छन्। वास्तवमा ढुङ्गे बन्चरा भनेर चिनिएका यी वस्तुहरू प्रागैतिहासिक मानवले बनाएका ढुङ्गे औजार हुन्। यस दृष्टिले हेर्दा, लोककथाले रहस्य थपे पनि यिनले मानव इतिहासको महत्त्वपूर्ण अध्याय उजागर गर्छन्।
यही पृष्ठभूमिमा, प्रस्तुत लेखमा प्रागैतिहासिक ढुङ्गे औजारहरू र तिनका आधारमा नेपालमा मानव चहलपहलको प्रारम्भिक इतिहासबारे चर्चा गरिएको छ। ढुङ्गे युगलाई ‘पाषाण युग’ पनि भनिन्छ। यो मानव सभ्यताको एउटा प्रारम्भिक कालखण्ड हो। मानिसले यस युगमा आफ्ना दैनिक आवश्यकता पूरा गर्न मुख्यतया ढुङ्गाका यस्ता औजार प्रयोग गरे। मानवको जीवनयापनमा अन्य जीवभन्दा फरक त्यही थियो। शिकार मार्न ढुङ्गाकै बन्चरा, भाला, वाण आदि प्रयोग हुन्थे। विश्वमा ढुङ्गे औजार निर्माण कहिलेदेखि शुरु भएको थियो भन्ने थाहा पाउन ती ढुङ्गे औजारको आयु पत्ता नलगाई हुँदैनथ्यो।
बीसौं शताब्दीको मध्यताका वैज्ञानिकहरूले ‘रेडियोकार्बन डेटिङ’ (Radiocarbon Dating) विधि पत्ता लगाए। यसैअन्तर्गत सन् १९५० र १९६० को दशकमा ‘पोटासियम–आर्गन डेटिङ’ जस्ता उन्नत विधिहरू विकास भए, जसले लाखौं वर्ष पुराना ढुङ्गे औजारहरूको सही उमेर पत्ता लगाउन सम्भव बनायो। त्यसपछि अध्येताहरूले बल्ल मानवनिर्मित ढुङ्गे औजार बढीमा २५ लाख वर्ष पुरानो हो भन्ने थाहा पाए। यस्ता हतियार वा औजारहरू सबैभन्दा बढी अफ्रिकी देश केन्या, इथियोपिया र दक्षिण अफ्रिकामा पाइएका छन्। यस्तै एशियामा चीन तथा भारतमा पाइएका छन्। नेपालमा पनि पाइएका छन्।






