Skip to main content

सिंहदरबारभित्र म्याद गुज्रिएको दही बिक्री, ‘हाम्रो खाजा घर’ लाई २ लाख ५ हजार रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र म्याद गुज्रिएको दही बिक्री गरेको ‘हाम्रो खाजा घर’ लाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको छ। अनुगमन टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेनागृहमा म्याद गुज्रिएको दही बिक्री भइरहेको पत्ता लगाएको छ।

२३ वैशाख, काठमाडौं। मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री भइरहेको फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको आकस्मिक बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यसँग खिलवाड गर्दै म्याद गुज्रिएको दही बेच्ने ‘हाम्रो खाजा घर’ नामक चमेनागृहलाई तत्कालै २ लाख ५ हजार रुपैयाँ जरिवाना लगाएको छ।

अनुगमनको क्रममा चमेनागृहले बिक्रीका लागि राखेको दहीको उपभोग्य मिति सकिसकेको पाइएकोले तत्काल कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार कसुर प्रमाणित भएपछि विभागले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार जरिवाना गर्ने निर्णय गरेको छ। विभागले खुद्रा विक्रेतालाई मात्र नभई म्याद गुज्रिएको दही उत्पादन गर्ने श्रीकृष्ण डेरी फर्मलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।