
२४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ मंसिरमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गर्यो । भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा अनियमितता भएको आरोपमा पक्राउ परेका अधिकारी २१ मंसिरमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भए । नलिञ्चोक हेलिपोर्ट प्रकरणमा पक्राउ परेर कारागार चलान भएका अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा पनि दायर भएको छ । नलिञ्चोक हेलिपोर्ट र पोखरा विमानस्थल भ्रष्टाचारमा पक्राउ परी कारागारमा रहेका अधिकारीमाथि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले एकसाथ तीन वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमा ज्यान मार्ने उद्योग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर छन् । यी मुद्दामा अनुसन्धान गर्दा प्रहरीले अधिकारीका विषयमा नयाँ तथ्य फेला परेको छ । अहिले उनको कनेक्सन नवीनराज बस्नेत नाम गरेका व्यक्तिसँग देखिएको अनुसन्धानबाट खुलेको छ ।
गति छाडेरै मुद्दा मिलाउने बस्नेत प्रयास लामो समयदेखि अख्तियारले अधिकारी जोडिएको नलिञ्चोक हेलिपोर्टदेखि पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको थियो । अख्तियारलाई प्रभावमा पारेर अनुसन्धान नै प्रभावित पार्ने प्रयासमा लागे पनि अधिकारी सफल हुन सकेका थिएनन् । पहिल्यैदेखि चिनजानमा रहेका र अधिकारीबाट नजिक भएर काम गर्दै आएका नवीनराज बस्नेतको माध्यमबाट अख्तियारलाई मिलाउन प्रयास गरिएको अनुसन्धानले देखाएको छ । बस्नेत तिनै व्यक्ति हुन् जसले तीन वर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।
प्राप्त अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे स्पष्ट संवाद भएको देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका छन् । प्रदीप अधिकारीले २३ नोभेम्बर २०२५ को राति ११:०७ बजे राजेश दाइसँग कुरा भएको उल्लेख गर्दै नवीन बस्नेतलाई ह्वाट्स एपमा म्यासेज गरेको देखिन्छ । त्यसमा लेखिएको छ, ‘बस्नेतले ११:१० को राति कुर्दै छु, भित्र किचेनमा भनेर जवाफ फर्काउँछन् । बस्नेतले अर्को म्यासेज पठाउँछन्— बासँग पनि भेट्छु । दाइ, मसँगै छौं ।’ यसअघि २२ नोभेम्बरमा अधिकारीले ‘केही प्रोग्रेस भयो त भाइ’ भन्दै म्यासेज पठाएको देखिन्छ । जहाँ बस्नेतले जवाफ फर्काउँदै ‘बाले नै गर्नुपर्ने भयो दाइ’ भनेको छ । ‘आरएम हाम्रो कुरा त्यही आयो ।’ १७ नोभेम्बरमा बस्नेतले अधिकारीलाई म्यासेज पठाएर भनेका छन्, ‘यति साह्रो किन प्रेसर, रोकिन्छ, ढुक्क हुनु न ।’ अख्तियारमा हुने मुद्दा रोकिने आश्वासन बस्नेतले अधिकारीलाई दिएको देखिन्छ।






