Skip to main content

रास्वपा सांसद वैदिक: नयाँ सरकारको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई मुख्य प्राथमिकता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले नयाँ सरकारको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई महत्वपूर्ण स्थान दिइएको जानकारी दिएका छन्। उनले गाउँगाउँका साना, लघु उद्यम र स्टार्टअपहरूले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। सरकार व्यवसाय दर्ता र नविकरण प्रक्रियामा कागजी कामलाई सजिलो बनाउन लागिपरेको र आगामी हप्ता परिणाम देखिने उनले बताए। २८ चैत, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले नयाँ सरकारले सार्वजनिक गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताको विषयलाई पर्याप्त महत्व दिइएको बताएका छन्। रास्वपा नेतृत्वको नयाँ सरकारले प्रस्तुत गरेको कार्ययोजनामा उद्यमशीलताका विषय कसैलाई पनि छुट्न नदिएको उनको भनाइ छ। राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिबार राजधानीमा गरेको सम्बोधनमा उनले आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक प्रगति हासिल गर्न गाउँगाउँका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

‘नयाँ सरकारले ल्याएको सय प्राथमिकतामा उद्यमशीलताका विषयहरू पूर्ण रूपमा समावेश छन्। उद्यमशीलतालाई महत्वका साथ समेटिएको छ। हामी स्पष्ट छौं कि देशको आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई समेटेर आर्थिक प्रगति गर्न गाउँगाउँमा रहेका साना लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले सबैभन्दा ठूलो भूमिका निभाउने छन्। सय दिने कार्यसूचीमा रास्वपाले व्यवसाय दर्ता र नविकरण प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ,’ सांसद वैदिकले भने।

सरकारले गर्दै आएको प्रयासको परिणाम आगामी साताबाटै देखिने उनले बताए। ‘व्यवसाय दर्ता स्थानीय तह, प्रदेश र कम्पनी कार्यालय जहाँ भए पनि कागजी प्रक्रियामा कुनै समस्या नपरोस् भनेर हामी प्रक्रिया सरल बनाउन तर्फ लागेका छौँ। उद्यमी बन्ने सपना कागजी प्रक्रियाले अवरोध पुर्‍याउने छैन,’ उनले बताए। कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिन बनाउनुपर्नेमा विशेष जोड दिएका थिए।