
ड्युटी सकेर फर्केका इन्स्पेक्टरलाई ट्रकले ठक्कर दियो, गम्भीर घाइते
प्रतिकात्मक तस्वीर। ३० चैत, काठमाडौं। ड्युटी सकेर फर्किंदै गरेका एक ट्राफिक प्रहरी अधिकृत दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। राति सवा ११ बजे मोटरसाइकलमा फर्कंदै गर्दा ट्रकले ठक्कर दिएको घटनामा ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गम्भीर घाइते भएका छन्। लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटना लामा तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा भएको हो। नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते भएका इन्सपेक्टर लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत छन्। रामेछाप घर भएका उनी तारकेश्वर-७ फुटुङ बस्दै आएका थिए। लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ती भई खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए। प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।