
मनोवैज्ञानिक पामेला डाल्टनका अनुसार, बास्ना सुँघ्ने बित्तिकै मस्तिष्कको भावना केन्द्रमा पुगेर मुडमा तीव्र परिवर्तन आउँछ। फूललाई कसैले मन नपराउन सक्छ भन्ने कुरा बुझ्न केही कठिन हुन्छ, तर सबै फूलको सुगन्ध सबैलाई मन नपर्न सक्छ। किनभने सुगन्धप्रति हाम्रो धारणा पूर्ण रूपमा व्यक्तिगत हुन्छ। हाम्रो सम्झना, संस्कृति, वंश र स्वभावले सुगन्धलाई गहिरो प्रभाव पार्दछ। रोचक कुरा के भने, एउटा विशेष सुगन्धले हामीलाई सधैं छुन्छ। जब त्यो सुगन्ध हाम्रो नाकमा पुग्छ, तब मन फूलझैँ फुरुङ्ग हुन्छ। त्यो सुगन्ध व्यक्तिबाट व्यक्तिमा फरक-फरक हुन सक्छ। तर यो सुगन्ध कहाँबाट आउँछ र कहाँ पाइन्छ भन्ने कुरा बुझ्न हामीले केही प्रयास गर्नुपर्छ।
बेलायतस्थित युनिभर्सिटी अफ केन्टका डिजाइनर तथा अनुसन्धानकर्ता केट म्याक्लेन म्याकेन्जीका अनुसार, केही कुरा सुँघ्नका लागि रोकिएर ध्यान दिनु आफैंमा राम्रो अभ्यास हो। कतिपयले यसलाई अनौठो ठानेपनि यसका व्यक्तिगत फाइदाहरू धेरै छन्। ३० सेकेण्डसम्म बास्ना सुँधेर श्वास फेर्दा हाम्रो शरीरमा सकारात्मक परिवर्तनहरू आउँछन्। यसमा मुटुको धडकन शान्त हुनु, मुड सकारात्मक हुनु जस्ता फाइदाहरू समावेश छन्। सुगन्ध र मस्तिष्कबीचको सम्बद्धता पनि गहिरो हुन्छ।
मनोवैज्ञानिक पामेला डाल्टनले भन्छिन्, बास्ना सुँघिँदै गर्दा मस्तिष्कको भावना केन्द्रमा सोही समयमा असर पुग्छ, जसले तीव्र रूपमा मुड परिवर्तन गर्छ। हामीले कुनै पनि बास्ना सुँघ्नासाथ त्यो सिधै मस्तिष्कको भावना केन्द्रमा पुग्छ। जबकि स्पर्श, आवाज र दृश्यहरू मस्तिष्कका अन्य भागमा जान्छन्, बास्नाले सिधै सम्झना र भावना जोडिएको क्षेत्रमा असर गर्छ। यसले गर्दा विशेष बास्नाले हामीलाई पुराना सम्झनामा फर्काउन सक्छ, जस्तै हजुरआमाको अत्तर वा बाल्यकालमा मनपर्ने खानाको बास्ना।






