Skip to main content

इन्टरपोलले देउवा दम्पती विरुद्ध रेड नोटिस प्रक्रियामा थप कागजातको माग गर्यो

इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्नका लागि थप कागजातको माग गरेको छ। गत चैत २४ गते काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। देउवा दम्पती १४ फागुनमा उपचारका लागि विदेश गएका थिए र अहिलेसम्म नेपाल फर्केका छैनन्। २३ वैशाख, काठमाडौं।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले थप कागजातको माग गरेको हो। प्रहरी प्रधान कार्यालयका स्रोत अनुसार, इन्टरपोलले थप कागजातको विवरण नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंसँग माग गरेको छ। ‘रेड नोटिस हाल प्रक्रियामा छ। इन्टरपोलले थप आवश्यक कागजात माग गरेको छ,’ एक उच्च प्रहरी अधिकारीले भने।

गत चैत २४ गते काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो। रेड नोटिसका लागि एनसीबी काठमाडौंले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो। तर इन्टरपोलले कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न सकेको छैन। पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै थिए। चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा उपचारका लागि सिंगापुर गएका उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ।

स्रोतका अनुसार, उनीहरू हाल पनि हङकङमै रहेको जनाइएको छ। रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रले देउवा दम्पतीलाई पक्राउ गर्न सक्छन् र कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिन्छ। पक्राउ पुर्जी जारी भएपछि देउवाले एउटा वक्तव्य जारी गर्दै आफू खुला किताब भएको बताएका थिए। उनले सम्पत्ति सम्बन्धी विषयलाई भ्रामक र झुटा बताए र आफ्नो सम्पत्तिको विवरण सरकारी निकायमा सार्वजनिक पदमा रहँदा दिएको उल्लेख गरे।