Skip to main content

बेनी नगरपालिकाले १५ विद्यालयको कक्षा घटायो र एक विद्यालय बन्द गर्‍यो

२ वैशाख, म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक विद्यालय बन्द गरेको छ भने १५ विद्यालयमा कक्षा घटाउने र तह मिलान गर्ने कार्य गरेको छ। विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द गरिएको छ। कक्षा घटाउने, तह मिलान गर्ने र बन्द भएका विद्यालयका ३२ जना शिक्षकहरूलाई विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूमा व्यवस्थापन गरिएको छ भनी बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताएका छन्। १–३ तहसम्म पठनपाठन हुँदै आएको चेतना आधारभूत विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी नहुँदा त्यहालाई बन्द गरिएको छ भन्ने नगरपालिकाले जनाएको छ। यसअघि गत वर्ष बेनी नगरपालिका–५ स्थित माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय पनि बन्द भएका थिए। १–३ तहसम्म पठनपाठन हुने बेनी नगरपालिका–१ को ज्ञानपुञ्ज, वडा नं २ को हंशबाहिनी, वडा नं ३ को नवज्योती र भूमे आधारभूतमा बालकक्षा मात्र कायम रहेको छ भनी नगरपालिकाले जानकारी दिएको छ। रत्नेचौरको भानु माविलाई १–१२ बाट १–८, गलेश्वरको जडभरत संस्कृति माविलाई १–१० बाट १–८ र थाकनपोखरी तथा राधाकृष्ण आधारभूत विद्यालयहरूलाई १–८ बाट १–५ मा झारिएको छ। १–५ तहका बराह, ज्ञानपुञ्ज, नवदुर्गा, विद्यामन्दिर, बरनाथ, स्यालीखेत र चन्द्रोदय आधारभूत विद्यालयहरूमा १–३ कक्षा कायम गरिएको छ। नगरप्रमुख सुरत केसीले १७ औं नगरसभाको निर्णयअनुसार ‘जहाँ विद्यार्थी हुन्छन् त्यहाँ शिक्षक हुनुपर्छ’ भनी विद्यार्थी सङ्ख्या कम भएका विद्यालयका शिक्षकहरूको दरबन्दी बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई उपलब्ध गराइएको बताएका छन्। उनले थपे, “गत भदौ महिनामा कार्यदल बनाएर विद्यालयहरूको स्थलगत अनुगमन, विषयगत समिति, समुदाय र वडास्तरमा विभिन्न चरणमा भएको छलफलअनुसार गत चैत २७ गतेको कार्यपालिका बैठकले गरेको विद्यालयको तह र कक्षा कटुवा तथा शिक्षक व्यवस्थापनको निर्णय नयाँ शैक्षिक सत्रको सुरुआतसँगै कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौँ। अहिले तह र कक्षा घटाइएका विद्यालयमा विद्यार्थी सङ्ख्या बढेमा तह र कक्षा थप गर्ने नीति लिएका छौँ।” कार्यपालिकाले गरेको तहअनुसारको प्रमुख शिक्षक नियुक्ति गर्नका लागि पनि विद्यालयहरूलाई पत्राचार गरिएको छ भनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताएका छन्। माध्यमिक तहमा मावि, १–८ तहको आधारभूतमा निमावी र १–५ को आधारभूतमा प्रावि तहका माथिल्लो बरियताक्रममा रहेका शिक्षक प्रमुख शिक्षकको रूपमा व्यवस्थापन गरिएको छ। बन्द भएका विद्यालयहरूको भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न उपसमिति गठन गरिएको छ र उक्त सम्पत्ति तथा कागजात नजिकको विद्यालयमा राखिने जनाइएको छ। दोस्रो चरणमा तह समायोजन र पुलमा रहेका शिक्षकहरूलाई विषयगत आवश्यकताअनुसार विद्यालयमा खटाउने तयारी नगरपालिकाले गरेको छ। बेनी नगरपालिकामा हाल ५५ वटा सामुदायिक विद्यालयहरू छन्। सुविधासम्पन्न भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटर लगायत पूर्वाधार उपलब्ध भएको तर बसाइसराइका कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ। कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटाउने) गरिएको थियो। तीव्र बसाइसराइ, निजी विद्यालयहरूतर्फको आकर्षण, अभिभावकको विश्वास नजगाउन सक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न नसक्नुले सामुदायिक विद्यालयहरू संकटमा परेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को ठूलो समस्या बनेको छ।