
२ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा आधारमा पार्टीलाई योजनाबद्ध तरिकाले पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार राति फेसबुकमार्फत पोखरेलले पार्टीविरुद्धको नियोजित प्रचारबाजीमा विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्। उनले भने, “अहिले एमाले चुनावमा पराजयपछि समीक्षा प्रक्रिया सुरु गरेको छ।”
महासचिव पोखरेलका अनुसार, “निर्वाचन समीक्षा वडा, पालिका र जिल्ला तहसम्म सञ्चालन भइरहेको छ।” उनले थपे, “प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भएपछि केन्द्रीय सचिवालयले त्यसलाई आधार मानेर समीक्षा प्रतिवेदन तयार गर्नेछ।” निर्वाचन समीक्षा सम्बन्धमा, केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली पनि तयार गरी अग्रणी कार्यकर्ताबाट व्यक्तिगत सुझाव संकलन गरिरहेको जानकारी उनले दिएका छन्।
“यी सबै तथ्य र सुझावको आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय समितिले समग्र समीक्षा गर्नेछ र पार्टीको संस्थागत दृष्टिकोण निर्धारण गर्नेछ,” उनले भने। उनले थपे, “निर्वाचन समीक्षा पश्चात पार्टीलाई योजनाबद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ।” उनले सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध गर्दै भने, “यस समयमा नियोजित र प्रायोजित रुपमा पार्टीलाई विवादमा फसाउने र कमजोर तुल्याउने प्रचारबाजीबाट नकारात्मक प्रभाव नपरोस्।”






