Skip to main content

वामपन्थी एकता के केवल स्वार्थ पुरा गर्नका लागि मात्र ?

३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी एकताको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले विगतको एकताको स्मरण गर्दै पुनः वामपन्थी एकताको बहस चलेको बताउँदै त्यसमा शङ्का व्यक्त गरेका छन्। सुरुमा एमाले र तत्कालीन माओवादीबीच भएको एकतालाई पदप्राप्ति र व्यक्तिगत स्वार्थका लागि गरिएको टिप्पणी गर्दै पाण्डेले अब केका लागि एकता गरिने सवाल गरेका छन्।

‘हाम्रा कतिपय कमरेडहरूले नेतृत्वमाथि संकट आएको भन्दै पुनः ‘वाम एकता’ को दौडधूपमा हुनुहुन्छ’, उनले भने, ‘हिजो पदप्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नै गुम्दो अस्तित्व जोगाउन। तर के पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सिमित व्यक्तिको स्वार्थ पूर्ति गर्नका लागि ?’ पाण्डेले अहिले एकता भन्दा बढी एमालेलाई कसरी एकताबद्ध बनाउने विषयमा सोच्न आवश्यक रहेको बताए।

बिचार र निश्चित लक्ष्यबिनाको एकताको अर्थ नरहेको भन्दै उनले पार्टी पुनर्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवालाई पार्टीमा समावेश गर्न आवश्यक भएको उल्लेख गरे। ‘विगतमा वैचारिक आधारविना गरिएको एकता असफल भएको तीतो अनुभव हामीले गरिसकेको छौं। हिजो मौन बस्नु हाम्रो भूल थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ’, उनले भने, ‘नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको खेल होइन, नियम, सुशासन र परिणाममुखी नेतृत्वसहित नयाँ मार्गमा अघि बढाउने साहस हामीले गर्नैपर्छ।’