Skip to main content

आज विश्व सम्पदा दिवस मनाइँदै: गहनापोखरी–भाटभटेनी पदयात्रा आयोजना

विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौंको बसन्तपुर क्षेत्र। फाइल फोटो ५ वैशाख, काठमाडौं। सम्पदाको संरक्षण र जनचेतना अभिवृद्धिका लागि आज विश्व सम्पदा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रहरूको संरक्षण गर्न सन् १९८३ देखि प्रत्येक वर्ष अप्रिल १८ मा यो दिवस मनाउने परम्परा सुरु भएको हो। विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी, चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन्।
यस अवसरमा आज बिहान राजधानीमा सम्पन्न हुने पदयात्रा कार्यक्रमको आयोजन वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको मातहत रहेको पर्यटन कार्यालयले गरेको छ। कार्यालय प्रमुख पवनकुमार पोखरेलका अनुसार पदयात्रा गहनापोखरीबाट भाटभटेनी मन्दिरसम्म तय गरिएको छ। पदयात्रा समाप्तपछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्व सम्बन्धमा अन्तरक्रिया कार्यक्रम पनि गरिने छ भने, यसमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको पनि सहभागिता रहने छ।