
लहान नगरपालिकाद्वारा हावाहुरी प्रभावित मुसहर समुदायलाई राहत वितरण
लहान नगरपालिकाले शनिबार साँझ आएको हावाहुरीले प्रभावित मुसहर परिवारहरूलाई त्रिपाल, चामल, नुन, खानेतेल लगायतका राहत सामग्री वितरण गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले तत्काल पीडितका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नु प्राथमिकता रहेको बताउँदै एक हप्ताभित्र दीर्घकालीन बसोबासको पूर्ण व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नगरपालिकाले भूमिहीन र सुकुम्बासी परिवारका लागि दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना पनि अघि बढाएको छ।
६ वैशाख, सिरहा। शनिबार साँझ आएको हावाहुरीले मुसहर बस्तीमा व्यापक क्षति पुर्याएको थियो। लहान नगरपालिका–२ कालाबन्जरस्थित मुसहर बस्तीमा २१ परिवारका जस्तापाता उडेका थिए। नगरप्रमुख महेशप्रसाद चौधरीले स्थलगत निरीक्षणपछि प्रभावित परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेल लगायतका आवश्यक राहत सामाग्री वितरण गरे।
नगरप्रमुख चौधरीले भने, ‘हावाहुरीबाट प्रभावित परिवारका लागि तुरुन्त सुरक्षित बसोबासको व्यवस्था नगरपालिकाको मुख्य प्राथमिकता रहेको छ। हामीले प्रभावितलाई तत्काल त्रिपाल उपलब्ध गराएका छौँ र अब एक हप्ताभित्र जस्तापाताको व्यवस्था गरी दीर्घकालीन बसोबास दिलाउने छौँ।’ उनले भूमिहीन तथा सुकुम्बासी परिवारका लागि दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना पनि अघि बढाइएको जानकारी दिएका छन्।
‘हामी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,’ नगरप्रमुख चौधरीले थपे। उक्त बस्तीमा हाल ४२ परिवार बसोबास गरिरहेका छन्। यस्तै, हावाहुरीले लहान–२४ मा सात घर र लहान–१९ मा एक घरमा समेत क्षति पु¥याएको छ।