
लहान नगरपालिकाले शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेललगायत राहत सामग्री वितरण गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले पीडितको तत्काल बसोबास व्यवस्थापनमा प्राथमिकता दिएको र एक हप्ताभित्र दीर्घकालीन बसोबासको व्यवस्था गर्ने प्रतिज्ञा व्यक्त गरिसकेका छन्। नगरपालिकाले भूमिहीन तथा सुकुम्बासी परिवारका लागि दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना अघि बढाएको छ।
६ वैशाख, सिरहा। शनिबार साँझ आएको हावाहुरीले मुसहर बस्तीमा ठूलो क्षति पुर्याएको थियो। लहान नगरपालिका–२ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारका जस्तापाता उडेका थिए। स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेललगायत आवश्यक सामग्री वितरण गरेका छन्।
सो अवसरमा नगरप्रमुख चौधरीले भने, ‘हावाहुरीबाट प्रभावित परिवारका लागि तत्काल सुरक्षित बसोबासको व्यवस्था नगरपालिकाको प्राथमिकता हो। हामीले प्रभावित परिवारलाई सुरक्षित राख्न त्रिपाल उपलब्ध गराएका छौँ। अब एक हप्ताभित्र जस्तापाता उपलब्ध गराएर दीर्घकालीन बसोबासको व्यवस्था गर्नेछौँ।’ उनले भूमिहीन तथा सुकुम्वासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना अघि बढाइएको जानकारी पनि दिलाए।
‘हामी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,’ नगरप्रमुख चौधरीले भने। उक्त बस्तीमा हाल ४२ परिवार बसोबास गर्दै आएका छन्। यस्तै, हावाहुरीका कारण लहान–२४ मा सात घर र लहान–१९ मा एक घरमा पनि क्षति पुगेको छ।






