
समाचार संक्षेप: रुबिना क्षेत्रीले चार विकेट लिएपछि नेपालले रुवान्डामा भएको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा इटालीलाई ५० रनले पराजित गरेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर ११२ रन बनाएको थियो र उपकप्तान पुजा महतोले अविजित ४८ रन बनाइन्। इटली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो र रुबिनाले २.४ ओभरमा चार रन खर्चेर चार विकेट लिएर प्लेअर अफ दि म्याच घोषित भएकी छिन्। ६ वैशाख, काठमाडौं।
रुबिना क्षेत्रीले चार विकेट लिएपछि रुवान्डामा भइरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आइतबार इटालीलाई ५० रनले पराजित गरेको छ। प्रतियोगितामा नेपालको यो पहिलो जीत हो। यसअघि शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो। किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर ११२ रन बनाएको थियो। उपकप्तान पुजा महतोले अविजित ४८ रन बनाइन्। सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इटालीका लागि इमिलिया बार्ट्रमले तीन विकेट लिइन् भने कुमुदु पेड्रिक, एलेक्सिया कोन्टोपिराकिस, इलेना सिम्स, पसन्दी कानाकेगे र थिलिनी फर्नान्डोले एक–एक विकेट लिए। ११३ रनको लक्ष्य पछ्याएको इटली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो। इटलीका लागि चथुरिका महामालागेले सर्वाधिक २२ रन बनाइन्। इटालीलाई अलआउट गर्न नेपालकी रुबिनाले २.४ ओभरमा चार रन मात्र खर्चेर चार विकेट लिइन्। रुबिना प्लेअर अफ दि म्याच घोषित भइन्। कविता कुँवरले दुई तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक–एक विकेट लिए।






