त्रिभुवन विश्वविद्यालयले क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम जारी गर्यो

त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउन १८ वटा संघ, संस्था र संगठनलाई पत्र काटेको छ। नेपाल क्रिकेट संघले त्रिविसँग सम्झौता नवीकरणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। १३ वैशाख, काठमाडौं।
त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना निकालेको थियो। सोही अन्तर्गत क्रिकेट रंगशाला पनि परेको छ। ३५ दिने सूचनापछि जसले त्रिविको जग्गा प्रयोग गरेका छन् ती सबै निकायलाई छुट्टाछुट्टै पत्राचार गरी खाली गर्न भनेको हो। त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ क्यानलाई पनि पत्र काटेको छ।
त्रिवि–क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदैछ। ‘अतिक्रमित जग्गा फिर्ता ल्याउने काम अन्तर्गत सबै निकायलाई पत्र काटेका छौं। क्यानलाई पनि पत्र पठाएको छ,’ प्रशासन महाशाखाका एक अधिकारीले भने, ‘क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदैछ।’ एक पदाधिकारीका अनुसार, यसपटक क्यानसँग सम्झौता गर्ने पक्षमा त्रिवि छैन। ‘ठूलाठूला खेल हुँदा महिनौंसम्म अध्ययन अनुसन्धानको काम प्रभावित भएका छन्। यसपटक सम्झौता गर्ने पक्षमा छैनौं,’ ती पदाधिकारीले बताए।
सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ। उनका अनुसार, जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार पत्र काटिएको हो। ‘वैशाख ४ मा सार्वजनिक सूचना नै जारी गरिसकेका छौं। त्यसपछि संघ संस्था र संगठनलाई पत्र पनि काटिएको छ,’ उनले बताए। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भने पत्र प्राप्त नभएको जनाए। त्रिविका एक पदाधिकारीका अनुसार, हिजो र आज सार्वजनिक बिदा हुँदा पत्र पुग्न केही समय लागेको हुनसक्ने उल्लेख गरे। क्यानको बोर्ड बैठकले भने त्रिविसँग सम्झौता नवीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको छ।






