महिलाले दुई पुरुषबाट एउटै समयमा गर्भधारण गरी जुम्ल्याहा जन्माएको दुर्लभ घटना

सन् २०१८ मा एक महिला आफ्ना दुई वर्षे जुम्ल्याहा छोराका बुवाको पहिचान गर्न कोलम्बियामा रहेको न्याश्नल यूनिभर्सिटी अफ कोलम्बियाको ल्याब्रटोरी अफ पप्युलेशन जनेटिक्समा पुगिन्। उक्त प्रयोगशालाले नियमित ‘पितृत्व परीक्षण’ गर्यो र परीक्षण दोहोर्याइयो। नतिजा अत्यन्तै अचम्मलाग्दो भएकाले त्यहाँका विज्ञहरू पूर्णतः विश्वस्त हुन चाहन्थे। ती बच्चालाई एउटै आमाले जन्म दिएकी भए पनि तिनका बुवा फरक थिए। यो एक दुर्लभ घटना हो जसलाई ‘हेटरोप्याटर्नल सूपर्फिकन्डेशन’ भनिन्छ। विश्वभरिका वैज्ञानिक अभिलेख अनुसार अहिलेसम्म यस्ता २० घटना मात्र दर्ता भएका छन्। कोलम्बियाको उक्त विश्वविद्यालयका विज्ञहरूले यस्तो घटना सम्भव छ भन्ने सैद्धान्तिक ज्ञान राख्थे, तर आफैंले प्रत्यक्ष देखेका थिएनन्। आफ्नै प्रयोगशालामा यस्तो घटना पुष्टि हुने प्रमाण आएपछि वैज्ञानिकहरूले यसबारे थप चासो देखाए।
पितृत्व परीक्षणको लागि उक्त प्रयोगशालाका वैज्ञानिकहरूले ‘माइक्रोस्याटलाइट मार्कर’ नामक प्रविधि प्रयोग गर्छन्। सामान्य भाषामा, यो प्रविधि अन्तर्गत बच्चा, आमा र सम्भावित बुवाबाट सङ्कलित डीएनएको साना टुक्राहरूलाई विश्लेषण गरिन्छ र तुलना गरिन्छ। “हामी प्रत्येक व्यक्तिको डीएनएमा रहेका १५ देखि २२ माइक्रोस्याटलाइट बिन्दुहरूको विश्लेषण गर्छौं र एक एक गरी तुलना गर्छौं,” परीक्षणको निर्देशक प्रोफेसर विलियम उसाकेनले बताए। तर यो प्रक्रिया सरल छैन। औँलाबाट रगतको नमुना लिएपछि वैज्ञानिकहरूले रगतबाट एक रासायनिक प्रक्रियामार्फत अन्य अवयव हटाई सानो मात्रामा डीएनए छुट्ट्याउँछन्। त्यसपछि विशेष उपकरणमा राखेर डीएनएको मात्र बढ़ाइन्छ। प्राप्त तरल पदार्थमा ‘फ्लोरेसन्ट डाइ’ नामक चम्किलो रङ मिसाइन्छ, जसले विश्लेषण गर्नुपर्ने माइक्रोस्याटलाइट बिन्दुहरूलाई चिन्हित गर्छ।
कोलम्बियाका जुम्ल्याहा बालकको संदर्भमा वैज्ञानिकहरूले उनीहरू, उनकी आमा र पितृत्व परीक्षणका लागि आएका व्यक्तिको डीएनएमा रहेका १७ माइक्रोस्याटलाइट बिन्दुहरूको विश्लेषण गरे। परीक्षणमा ती व्यक्तिको डीएनओ जुम्ल्याहा बच्चामा एउटासँग मात्र मेल खायो, अर्कोतर्फ मेल भएन। यो अत्यन्तै असाधारण परिणाम थियो। “म विगत २६ वर्षदेखि यो प्रयोगशालाको निर्देशक हुँ र यो हाम्रो यहाँ देखेको पहिलो र एक मात्रै घटना हो,” उसाकेनले बताए।






