Skip to main content

बन्दुकेडाँडामा हरित क्रान्तिको पुनरागमन

धनकुटाको चौबीसे गाउँपालिका–३, बन्दुकेडाँडामा पानीको अभावले बिग्रिएको जमिनमा पानी संकलन र जैविक खेतीमार्फत कृषि पर्यटनको विकास भएको छ। तमोर पर्माकल्चर फार्मले ३४ लाख लिटर पानी संकलन गर्ने पोखरी र लिफ्टिङ प्रणालीमार्फत वर्षभरि सिँचाइ गर्दै ३५ प्रजातिका फलफूल उत्पादन गर्दै आएको छ। स्थानीयले पनि पोखरी बनाएर पानी संकलन गरेका छन् र बसाइसराइ घटेसँगै गाउँमा जीवन फर्किएको छ। १८ वैशाख, विराटनगर।

धनकुटाको चौबीसे गाउँपालिका–३, कुरुले तेनुपाको सिरानमा पर्ने बन्दुकेडाँडा केही वर्ष अघिसम्म जीवन्त गाउँझैं देखिँदैनथ्यो। पानीको अभावले चर्किएको माटो, सुक्दै गएका मुहान र घरहरू विस्तारै खाली हुँदै गएका थिए जसले त्यो भूभागलाई विरक्तलाग्दो बनाएर रहँदा दिन थियो। स्थानीय अनुसार त्यहाँ बस्नु मात्र होइन, बाँच्नु नै चुनौती थियो। आज त, त्यो बन्दुकेडाँडा हराभरा बगैंचामा परिणत भएको छ। स्याउ, आरुबखडा, ओखर, एभोकाडोजस्ता फलफूलहरूले डाँडालाई छोपेको छ।

पानीको अभावसंगै खेतीयोग्य जमिन बाँझिन थाल्यो र त्यसपछि बसाइसराइको प्रवृत्ति सुरु भयो। गाउँ बिस्तारै सुनसान हुँदै गयो। तर परिवर्तनको बीउ रोपियो–पानीबाट नै। तमोर पर्माकल्चर फार्मका अध्यक्ष लोकेन्द्रकुमार याख्खाका अनुसार पानीको समस्या समाधान नगरी त्यो क्षेत्रमा खेती तथा बसाइन्थाम्न पर्ने थिएन। त्यसैले वर्खाको पानी संकलन गर्ने अवधारणा ल्याइएको थियो। अहिले फार्ममा ३४ लाख लिटर क्षमताको पोखरी निर्माण गरिएको छ, जहाँ बर्खाको पानी संकलन गरी वर्षभरि सिँचाइ गरिन्छ।

फार्मका कोषाध्यक्ष दीर्घमान तामाङ भन्छन्, ‘यो केवल खेती मात्र होइन, प्रकृतिसँग सहकार्य गरेर उत्पादन गर्ने अभ्यास पनि हो।’ स्थानीयतिर फैलिएको प्रेरणा र तमोर पर्माकल्चर फार्मको सफलताले स्थानीय समुदायमा नयाँ आशा जगाएको छ। बसाइसराइमा कमी आउन थालेपछि पानी र उत्पादनसँगै गाउँमा मानिसहरू पनि फर्किन थालेका छन्। चौबीसे गाउँपालिका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण इकाइका एमआईएस अपरेटर स्नेहा श्रेष्ठका अनुसार २०७८ सालमा ५६ घरपरिवारले बसाइसराइ गरेका थिए भने केवल एक परिवार मात्र गाउँ फर्किएको थियो।

बन्दुकेडाँडाको यो कथा केवल एउटा गाउँको कथा मात्र होइन, दिगो सोच, सामूहिक प्रयास र प्राकृतिक स्रोतको बुद्धिमत्तापूर्ण उपयोगले ल्याउन सक्ने परिवर्तनको उदाहरण हो। वडाध्यक्ष तुम्सा भन्छन्, ‘पानीको थोपा–थोपा संकलनले बन्दुकेडाँडाको उजाड भूगोललाई फेरि पुनर्जीवन दिएको छ।’