
१८ वैशाख, काठमाडौं । अवकाश प्राप्त सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याललाई परम्पराअनुसार श्रद्धापूर्वक बिदाइ गरियो । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा विशेष समारोह आयोजना गर्दै मायाको चिनो हस्तान्तरण गरेर अर्याललाई बिदाइ गरेका छन् । सो अवसरमा अर्यालले नयाँ आईजीपी पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्दै नेतृत्व सुम्पिएका छन् । यसैक्रममा अर्यालले पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी समर्पण गरेका छन् ।
बिदाइ समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धि र गौरवको विषय ठाने । साथै उनले सशस्त्र प्रहरी संगठनलाई परिवारको रूपमा लिएर अनुशासन, त्याग, ईमान्दारिताको साथै नेतृत्वको साँचो अर्थ सिक्ने अवसर प्राप्त भएको अनुभव सुनाए । संगठन सुधारको प्रक्रिया केवल एक प्रमुखको कार्यकालमा सुरु गरेर अर्को प्रमुखको कार्यकालमा समाप्त हुने विषय नभई निरन्तर जारी रहने प्रक्रिया भएको उनले उल्लेख गरे । आफ्ना सेवा अवधि अघि साथ, सहयोग र ऊर्जा प्रदान गर्नेहरू प्रति उनले आभार व्यक्त गरे ।
बिदाइ समारोहमा नयाँ आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताए। ‘यो केवल एउटा अध्यायको समाप्ति हो र अर्को जिम्मेवार यात्राको शुरुवात,’ उनले भने, ‘सेवा निवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आगामी जीवन सुखद्, स्वस्थ, सम्मानजनक र सफलताको शुभकामना व्यक्त गर्दछु र उहाँको अनुभव, मार्गदर्शन तथा दृष्टिकोण संगठनका लागि आगामी दिनहरूमा मार्गदर्शनको स्रोत बन्ने विश्वास छ।’ समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने तथा संघकी उपाध्यक्ष श्रीमती सावित्राकुमारी पौडेलले फूलमाला सहित अर्याललाई बिदाइ गरेका थिए।






