Skip to main content

प्रहरी विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई विपद् व्यवस्थापन तालिम

२३ वैशाख, काठमाडौं । नेपाल प्रहरी विद्यालय शान्तिपुर, चितवनले नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थी र शिक्षकहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीलाई विपद् बाट हुनसक्ने क्षति कम गर्न सम्बन्धित तालिम दिइएको हो। भूकम्प, आगलागी, चट्याङ, हावाहुरी जस्ता तत्कालीन सम्भावित विपद् घटनाहरूमा कसरी सुरक्षित रहौन भन्ने विषयमा नमुना अभ्याससहित प्रशिक्षण उपलब्ध गराइएको छ।

अभ्यासमा भूकम्पको एउटा काल्पनिक घटना सिर्जना गरी विद्यार्थीहरूलाई कक्षा कोठामा हुँदा कसरी सुरक्षित रहन सकिन्छ र शिक्षकहरूले के भूमिका निर्वाह गर्नुपर्छ भन्ने सिकाइएको छ। सुरक्षित स्थान चयन गर्ने तरिका, त्यहाँ पुग्ने प्रक्रिया, विद्यार्थीहरूलाई कुन कक्षामा जम्मा गराउने लगायतका विषयमा शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई अभ्यास गराइएको छ। घाइते विद्यार्थीको उपचार, खोजतलास र अन्य निकायहरूसँग समन्वय गर्ने तरिकामा पनि अभ्यस्त गराइएको थियो। नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी, र विद्यालयका सुरक्षाकर्मीहरूको सहकार्यमा पूर्व तयारीसहित अभ्यास सम्पन्न गरिएको हो। शान्तिपुर प्रहरीले नयाँ शैक्षिक सत्रको पहिलो दिन “घर जस्तै सेवा, परिवार जस्तै हेरचाह” भन्ने मूल नारासहित विद्यार्थीहरूको स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन गरेको छ।