
समस्याग्रस्त सहकारीका प्रमुख ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज १० वटा समस्याग्रस्त सहकारीका प्रमुख ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले ती ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ, नभए कानुन बमोजिम असुली प्रक्रिया अघि बढाइने बताइएको छ। समितिले अन्य समस्याग्रस्त सहकारीका प्रमुख ऋणीहरूको नाम क्रमशः सार्वजनिक गर्ने र तिनीहरूलाई ऋण बुझाउन आग्रह गर्ने जनाएको छ। २३ वैशाख, काठमाडौं।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका प्रमुख ऋणीहरूको नाम सार्वजनिक गर्ने काम थालनी गरेको छ। समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका प्रमुख ऋणीहरूको नाम सार्वजनिक गरिएको छ। अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम क्रमशः सार्वजनिक गरिने समितिको जानकारी छ।
समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्ने निर्देशन दिइएको छ। नभए कानुन बमोजिम करबाही गरिने स्पष्ट पारिएको छ। साथै आगामी दिनहरूमा अन्य ऋणीहरूको नामावली पनि सार्वजनिक गरिने भएकाले ती ऋणीहरूले पनि छिट्टै कार्यालयमा सम्पर्क गरी ऋण तिर्न आग्रह गरिएको छ।
समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका प्रमुख ऋणीहरूको नाम सार्वजनिक गरेको छ।