Skip to main content

हान्टाभाइरस: डच पानीजहाजमा फैलिएको घातक सङ्क्रमण

हान्टाभाइरस फैलिएको डच पानीजहाज ‘एमभी होन्डिअस’ मा यात्रा गरी स्वदेश फर्किएका एक स्विस नागरिकलाई पनि हान्टाभाइरस सरेको पुष्टि गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आन्ध्र महासागरमा रहेको उक्त पानीजहाजमा अहिलेसम्म आठ जनामा लक्षण देखिएको र तीमध्ये तीन जनामा सङ्क्रमण पुष्टि प्रयोगशालामा गरिएको परीक्षणबाट भएको जनाएको छ। बुधबार पानीजहाजबाट उद्धार गरिएका तीन बिरामीलाई उपचारका लागि नेदरल्यान्डस् लगिएको छ। तीमध्ये चालकदलका दुई सदस्य र एक यात्रु रहेका छन्।

आर्जेन्टिनाबाट १ अप्रिलमा केप भर्डसम्मको यात्राका लागि प्रस्थान गरेको क्रूज पानीजहाजमा सङ्क्रमण फैलिन थालेपछि तीन जनाको मृत्यु भइसकेको छ। उक्त पानीजहाज ३ मे मा केप भर्ड पुगेको थियो। चालकदल र यात्रुहरूसहित १४६ जना सवार जहाजलाई अहिले कनेरी आइल्यान्ड्स तर्फ पठाइएको छ र केही दिनमै त्यहाँ पुग्ने अपेक्षा गरिएको छ। सो पानीजहाजमा सवार यात्रुहरूका अनुसार जहाजमा यात्रुहरूले एकअर्कासँग भौतिक दूरी कायम गरेका छन्, मास्क लगाएका छन् र उनीहरूलाई क्याबिनमै खाना उपलब्ध गराइएको छ।

स्पेनको उक्त स्वायत्त क्षेत्रका नेताहरूले एमभी होन्डिअसलाई त्यहाँ रोक्न दिने स्पेन सरकारको योजनाको विरोध गरेका छन्। फेर्नान्दो क्लाभिखोले ‘ओन्दा सेरो’ रेडियोलाई दिएका अन्तर्वार्तामा भने, “म [उक्त जहाजलाई] कनेरिजमा प्रवेश गर्न अनुमति दिन सक्दिनँ। यो निर्णय कुनै प्राविधिक मापदण्डका आधारमा लिइएको छैन, न हामीलाई पर्याप्त जानकारी दिइएको छ।” क्लाभिखो हाल ब्रसल्समा छन् र उनले उक्त विषयमा छलफलका लागि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग मड्रिडमा भेट गर्न चाहेको बताएका छन्। स्पेनका स्वास्थ्य मन्त्रीले भनेका छन् कि उक्त पानीजहाजमा अहिले सवार व्यक्तिहरूमा सङ्क्रमण देखिएको छैन।