Skip to main content

सरकारको चेतावनी: कर्मचारीले राजनीति गरे जागिर गुम्ने खतरा

सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिमा संलग्न भएका खण्डमा सेवा पदबाट हटाउन सकिने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूलाई अनुशासन र आचरण सम्बन्धी नियमहरू पालना गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ अनुसार राजनीतिक पार्टीमा आबद्ध कर्मचारीलाई सेवाबाट हटाउन सकिने कानुनी प्रावधान रहेको छ।

३० वैशाख, काठमाडौं। सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिमा संलग्नता देखिए सेवाबाट हटाउन सकिने चेतावनी जारी गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीहरूलाई अनुशासन र आचरणसम्बन्धी नियमहरू पूर्ण रूपमा पालना गर्न निर्देशन गरेको छ। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार, निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अन्तर्गत निजामती कर्मचारीले राजनीतिमा सहभागी भए भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिएर सेवा पदबाट हटाइने व्यवस्था रहेको स्मरण गराएको छ। कर्मचारीहरूले राजनीतिक दल, भ्रातृ संगठनमा आबद्ध हुन नपाइने व्यवस्था सूचनामा स्पष्ट गरिएको छ। राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीहरूलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘निजामती कर्मचारीले कुनै राजनीतिक दल, त्यसको भ्रातृ संगठन, जन वर्गीय संगठनमा आबद्ध भएर सदस्यता लिएका वा राजनीतिक क्रियाकलापमा संलग्न भएका वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार समेत बनेको देखिए कानुनबमोजिम दण्डनीय कारबाही गरिने जानकारी गराइन्छ।’