Skip to main content

जापान, अमेरिकी र दक्षिण कोरियाले हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे

जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले न्युयोर्कमा भेंटघाट गरी उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन्। तीन देशले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न त्रिपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउन सहमत भएका छन्। उनीहरूले अपहरण गरिएका व्यक्ति समस्याहरूको समाधान, साइबर गतिविधिहरूको नियन्त्रण, र ताइवान जलडमरूमध्यमा शान्ति कायम राख्ने विषयहरूमा पनि जोड दिएका छन्।

सोमबारको बैठकमा जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। संयुक्त राष्ट्रसंघ महासभा बैठकको अवसरमा सम्पन्न यस भेंटघाटमा तीन देशबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको थियो। बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार, तीन देशले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न त्रिपक्षीय सहकार्यलाई महत्वपूर्ण आधार मान्दै ठोस सहकार्य जारी राख्ने बताएका छन्।

उनीहरूले अन्तर्राष्ट्रिय विपद् उद्धार तथा राहत प्रयासको सहयोग बढाउने र दक्षिण–पूर्वी एसियामा सीमापार हुने अपराध नियन्त्रणका लागि छलफल गरी सहमत भएका छन्। त्यसैगरी, इन्डो–प्यासिफिक क्षेत्रमा आगामी पुस्ताका आणविक रिएक्टरहरू, अर्थात् स्मल मोड्युलर रिएक्टर (एसएमआर) स्थापना गर्ने योजनालाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

उत्तर कोरियाको विषयमा, तीन विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार पूर्ण आणविक निशस्त्रीकरणका लागि सहकार्य निरन्तरता दिने बताएका छन्। साथै, उत्तर कोरियाले अपहरण गरेका व्यक्तिहरूसँग सम्बन्धित समस्याको शीघ्र समाधान आवश्यक भएकोमा जोड दिएका छन्। बैठकमा चीनको अवस्थालाई ध्यानमा राखेर क्षेत्रीय सुरक्षा परिवेशबारे पनि छलफल गरिएको थियो। ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्व कायम राख्न विशेष महत्त्व दिइएको छ।