Skip to main content

थलीमा धारिलो हतियार प्रहारबाट घाइते कुकुरको सफल उद्धार

काठमाडौंको थलीस्थित तामाङ टोलमा एक सामुदायिक कुकुरमाथि धारिलो हतियारले जथाभावी प्रहार गरिएको घटना घट्यो। ३ जेठ, काठमाडौं। यो घटनाले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। खुकुरी वा कुनै अन्य धारिलो हतियारले उक्त कुकुरलाई जथाभावी काटिएको पाइएको छ। नेहा गुरुङले उक्त कुकुरको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै तत्काल सहयोगको अपील गरिन्। सृजना ठकुरीले उक्त कुकुरको उद्धार गरी उपचारको तयारी भइरहेको जानकारी गराइन्। उनका अनुसार, कुकुरको शरीरका विभिन्न भागमा गहिरो चोट पुगेको छ। कुकुर सुतिरहेको बेलामा कसैले अचानक कोखा, खुट्टा लगायतका भागहरूमा धारिलो हतियारले प्रहार गरेको हुनसक्ने बताइन्।

आक्रमणकारीको पहिचानका लागि घटनास्थल वरिपरिका सीसीटिभी फुटेज संकलन गरेर अनुसन्धान जारी रहेको सृजनाले जानकारी दिइन्। यसअघि पनि सो इलाकामा पशु दुर्व्यवहारका घटना सामान्य भइसकेको उल्लेख गरिन्। केही समयअघि पनि एक कुकुरमाथि रड प्रहार गरेको घटना देखिएको थियो। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी दुर्व्यवहारसम्बन्धी प्रावधानहरू समावेश छन्। संहिताको दफा २९० अनुसार, ‘कसैले कुनै पशुपक्षीलाई कुटपिट, हिर्काउने, क्षमता भन्दा बढी भारी बोक्ने वा दौडाउने, रोगग्रस्त वा घाइते पशुलाई काममा लगाउने, हानिकारक वस्तु सेवन गराउने वा अन्य प्रकारको यातना दिने काम गर्न नपाइने’ व्यवस्था छ। यस किसिमको अपराध गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद, वा पाँच हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजायको प्रावधान छ। साथै, दफा २८९ अनुसार त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको सजाय र अंगभंग गराएमा ६ महिनासम्म कैद सजाय हुने व्यवस्था छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ