Skip to main content

ब्ल्याक लेबल सहितका ब्रान्डेड नक्कली मदिरासहित चार जना पक्राउ


५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरमा नक्कली ब्रान्डेड मदिरा बनाउने कारखानामा छापा मारी चार जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीस्थित एक घरबाट रेडलेबल, ब्ल्याक लेबल एवं अन्य विभिन्न ब्रान्डका नक्कली मदिरासहित ती व्यक्तिहरूलाई पक्राउ गरेको जानकारी दिएको छ।

सशस्त्र प्रहरीले नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा चाँगाथलीस्थित बिर्खबहादुर तामाङको घरमा छापा मारेको जनाएको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिका का २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन्। सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले यस सम्बन्धमा जानकारी दिएका छन्।

सशस्त्र प्रहरीले उक्त स्थानबाट रक्सी बनाउन प्रयोग हुने रासायनिक पदार्थ तथा उपकरणसहित राजस्व स्टिकर र होलोग्राम पनि बरामद गरेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ