Skip to main content

ललितपुरमा नक्कली ब्रान्डेड मदिरासहित चार जना पक्राउ

५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको टोलीले ललितपुरमा नक्कली ब्रान्डेड मदिरा बनाउने स्थानमा छापा मार्दै चार जनालाई पक्राउ गरेको छ। सशस्त्रले ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीस्थित एक घरबाट रेडलेबल, ब्ल्याक लेबल र अन्य विभिन्न ब्रान्डका नक्कली मदिरासहित ती व्यक्तिहरूलाई पक्राउ गरेको जानकारी दिएको छ। सशस्त्र प्रहरीले नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा चाँगाथलीस्थित बिर्खबहादुर तामाङको घरमा छापा मारेको बताएको छ।

पक्राउ परेकाहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिका का २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् भने सशस्त्र प्रहरीका प्रवक्ता, नायब महानिरीक्षक(डीआईजी) विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्। सशस्त्रले उक्त स्थानबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्व स्टिकर र होलोग्राम पनि बरामद गरेको जनाएको छ।