राहदानीका लागि ३० मिनेटमै आवेदन दिन सकिने, भोलिपल्टै राहदानी उपलब्ध गराइने

परराष्ट्र मन्त्रालयले राहदानी आवेदन गर्न ३० मिनेट भित्रै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरेको दाबी गरेको छ। राहदानी विभागले आवेदन दिएको भोलिपल्टै राहदानी जारी गर्ने योजना ल्याएको छ। विभागले नयाँ ‘मोफा मित्र’ एप्लिकेशन जेठ १२ गते सार्वजनिक गर्ने तयारी गरेको छ। ८ जेठ, काठमाडौं।
आज पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेट भित्र आवेदन दिन सकिने व्यवस्था मिलाइएको जानकारी दिए। हाल राहदानी सेवा सरल रहेको उल्लेख गर्दै मन्त्रालयले सेवाग्राहीहरुलाई तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ। कागजातसहित उपस्थित भएपछि ३० मिनेट भित्र आवेदन दिने सेवा प्रवक्ता पौडेलले बताए।
जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा आवेदन दिएको ७ देखि १२ दिन भित्रमा राहदानी छपाइ गरी पठाउने व्यवस्था मिलाइएको उनले बताए। निजी ठेगानामा राहदानी पुर्याउन हुलाक सेवा विभागसँग समन्वय भइरहेको पनि जनाए। राहदानी विभागमा नयाँ प्रणाली लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
वर्तमान आपूर्तिकर्ताबाट प्राप्त २ लाख ७ हजार ५ सय ९३ थान राहदानीमध्ये २ लाख ७ सय ३७ थान साधारण राहदानी मौज्दात रहेको मन्त्रालयले जनाएको छ। आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई सकभर जेठ मसान्त भित्रै आवेदन दिन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नयाँ आपूर्तिकर्ताले २ लाख ५० हजार थान राहदानी उपलब्ध गराएको र वैयक्तिकरण परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ।

