
आठपहरिया समुदायले आफ्नो विशेष पहिचान अनुसार आदिवासी जनजातिमा सूचीकृत हुन सरकारसँग लामो समयदेखि माग गर्दै आएको छ। धनकुटा नगरपालिकाले आठपहरिया भाषा र संस्कृतिको संरक्षणका लागि संग्रहालय बनाउन तयारी गरीरहेको छ। ९ जेठ, धनकुटा। पूर्वी नेपालको अरुण र तमोर नदीको बीच भागमा पर्ने धनकुटा जिल्लामा बसोबास गर्ने एक सीमान्त जनजाति हुन् आठपहरिया। समयको प्रवाहसँगै आधुनिक समाजको प्रभाव र राज्यको औपचारिक मान्यता नपाउँदा आठपहरिया समुदायले आफ्नो पहिचानको रक्षा गर्न संघर्ष गरिरहेको छ। आफ्नै संस्कार-संस्कृति, भाषा र भेषभूषा बोकेको यो समुदायले आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग दिर्घकालदेखि गर्दै आएको छ। २०५८ सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत हुन प्रयास गरिरहेका तर राज्यबाट स्वीकार नपाएका किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले समस्या ब्यक्त गरेका छन्। ‘राज्यले आठपहरियाको छुट्टै पहिचानलाई औपचारिक रूपमा स्वीकार नगरेका कारण सामाजिक, शैक्षिक र आर्थिक रूपमा पछि परेको छ,’ उनी भन्छन्, ‘हाम्रा सबै प्रमाणहरू अनुसार हामी आठपहरिया नै हौं, त्यसैले नेपालमा आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने हाम्रो माग हो।’
सूर्यका अनुसार आठपहरिया समुदायको आफ्नै भाषा, भेषभूषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक संरचना छ, तर राज्यले अलग्गै समुदायको रूपमा नमान्दा उनीहरूको अस्तित्व नै डुब्न लागेको छ। धनकुटा नगरपालिकामा मुख्य रूपमा बसोबास गर्ने आठपहरियाहरू यस क्षेत्रका भूमिपुत्रका रूपमा चिनिन्छन्। २०७८ सालको जनगणनाअनुसार आठपहरियाको संख्या ५८७८ रहेको छ। २०५८ सालको जनगणनामा उनीहरूलाई ‘आठपहरिया राई’ भनिएको थियो भने २०६८ र २०७८ को जनगणनामा मात्र ‘आठपहरिया’ उल्लेख गरिएको छ। आठपहरिया गुम्तिमा १९ जातीय समूह रहेका छन् जसमा छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङ लगायतका जातिहरू पर्छन्। यी समूहहरूले आफ्ना सांस्कृतिक परम्परा, पूजा प्रणाली र चाडपर्वलाई निरन्तरता दिएका छन्।
आठपहरियाहरू आफ्नो विशेष चाडपर्व मनाउँछन् र आफ्ना देवी-देवताहरूको पूजा गर्छन्। मुख्य बसोबास धनकुटामा भए तापनि अन्य ठाउँमा कामका लागि रहेका आठपहरियाहरू पनि आफ्नो चाडपर्व मनाउन वा पितृकार्य गर्न धनकुटा आउँछन्। नेपाल सरकारले वि.सं. २०४६ को संविधान संशोधन पश्चात आदिवासी जनजातिको विकास एवं उत्थानका लागि समितिहरू गठन गरेको छ भने २०५८ सालमा राष्ट्रिय प्रतिष्ठान पनि स्थापना गरिएको छ। यसको लक्ष्य भाषिक तथा सांस्कृतिक विविधता संरक्षण र प्रवर्द्धन गर्नु पनि हो। तर आठपहरिया जातिका रूपमा सूचीकृत गरिनुपर्ने माग सम्बोधन भएको छैन। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पनि आठपहरियालाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने बताएका छन्।
आठपहरिया भाषा र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले संग्रहालय निर्माण गर्ने तयारी गरिरहेको छ र छिट्टै सञ्चालनमा ल्याउने योजना छ। प्रमुख चाड वाडाङ्मेट आठपहरियाहरू विशेष गरी मंसिर महिनामा मनाउने गर्छन्। यो पर्व मानव जीवनमा जताइने शोकलाई सामूहिक रूपमा सम्झने र जेठो सन्तानको जन्मलाई खुशीका साथ मनाउने पर्व हो। वाडाङ्मेट पर्वको आरम्भ ‘माङ्लाङ्’ उठाएर गरिन्छ, जुन ५२ चुले घरमा गरिन्छ। माङ्लाङ् उठाएर तीन दिनपछि मृतक परिवारका सदस्यहरू तीन दिन पैदल यात्रा गरी सुनसरीको बराहक्षेत्रको कोकाहा खोलामा पुग्छन्। त्यहाँ आफन्तका दुःख बोकेको मानिसले कपाल र दाद्री मुण्डन गरी नुहाएर पूजा-अर्चना गर्छन् र बराही भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ। तीन दिन लामो यात्रामा खुला ठाउँ र खोलाको किनारमा बस्नुपर्ने हुन्छ र यस समयमा अन्य बेला नगाउने भक्ति गीत (मुन्धान वा मुन्धुम) गाउने प्रचलन छ। बराहक्षेत्रबाट फर्किएपछि भोलिपल्ट घरमा पितृ पूजा गरिन्छ। जेठो सन्तान जन्मेको र नयाँ घर निर्माण भएकामा हर्षोल्लासमा भोज र नाचगान गर्ने परम्परा पनि छ। कात्तिक पूर्णिमाअघि करिब एक हप्तादेखि सुरु हुने वाडाङ्मेट पर्व औंसीसम्म मनाइन्छ। यस चाडमा विशेष परिकारहरू खाइन्छन्, ढोल, मारुनी, डल्लो नाच प्रदर्शन गरिन्छ र पैसाको माला दान गर्ने परम्परा छ। पैसाको माला दानले मनोकामना पुरा हुने विश्वास छ। धनकुटा नगरपालिकाले यस चाडका अवसरमा स्थानीय बिदा पनि दिने गरेको छ। वैशाखमा बिसु र भदौमा न्वागी चाड आठपहरिया समुदायले धूमधामका साथ मनाउँछन्। यी चाडमा परिवार र समुदायमा सुख, शान्ति, समृद्धि र मेलमिलापको कामना गरिन्छ। बिसु चाड आठ दिनसम्म चल्छ। न्वागी पर्वमा नयाँ बाली पितृ तथा कुललाई चढाइन्छ। यो पर्व भदौ शुक्ल पूर्णिमापछि बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्म चल्ने चलन छ।
आठपहरिया जातिको भाषा, धर्मसंस्कार र संस्कृति संरक्षण सकसपूर्ण अवस्थामा छ। यस जातिको आफ्नै लिपि हालसम्म पहिचान भएको छैन भने भाषा तथा संस्कृतिको अवस्था लोपोन्मुख छ। यद्यपि थोरै भए पनि देवनागरी लिपिमा ‘आठपहरिया भाषा’ को व्याकरण तयार पारेर अध्ययन-शिक्षा भइरहेको छ। सरकारबाट कक्षा पाँचसम्म मातृभाषामा शिक्षा दिइएको छ, तर लोपोन्मुख भाषाहरूको शब्दकोश अभावले अध्ययनमा सफलता कम भएको छ। आठपहरिया भाषा किराँती भाषाहरूभित्र पर्ने भोट बर्मेली समूहको भाषा हो। यसको सम्बन्ध बेलाहारे भाषा, छथरे लिम्बू र याख्या भाषासँग छ। यसलाई असुरक्षित भाषाको सूचीमा राखिएको छ। आठपहरियामा मार्गा र जिमी थलो मानिन्छ। जाति, थर र पाछा फरक भए पनि भाषा एउटै छ। समुदायका अगुवा धनबहादुर आठपहरियाले नयाँ पुस्तामा मातृभाषाको प्रयोग कम भएपछि भाषा लोप हुने खतरा रहेको बताएका छन्। ‘आठपहरिया भाषा लोपोन्मुख हुनुको मुख्य कारण अरू भाषाहरू, विशेष गरी नेपाली र अंग्रेजी भाषाको प्रभाव हो। अभिभावकहरूमाझ अंग्रेजी भाषाको मोह पनि बढेको छ,’ उनले भने। उनका अनुसार मातृभाषाको उच्चारण र प्रयोगमा कठिनाइले नयाँ पुस्तालाई भाषा सिक्नबाट टाढा गराएको छ। घरमा समेत नेपालीको प्रयोग बढ्नाले भाषा पुस्तान्तरण कमजोर हुँदै गएको छ।
आठपहरियाका पुरुष र महिलाले लगाउने भेषभूषामा मौलिकता छ। विशेषगरी महिलाहरूको पहिरन र गहनाहरू विशेष प्रकारका हुन्छन्। तर आधुनिकीकरणका कारण यी मौलिक भेषभूषा हराउँदै गएका छन्। यस विषयमा गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया भेषभूषा सिलाइ प्रशिक्षण दिई जनशक्ति उत्पादन गरेको छ। परम्परागत घरहरू पनि लोप हुँदै छन्। धनकुटा नगरपालिकामा बसोबास गर्ने आठपहरिया समुदायका परम्परागत घरहरू अहिले लोपमा छन्। आधुनिक भवनले पुराना घरहरू घटाउन थालेका छन्। नगरपालिकाले खरको छाना भएका फुसका घरहरूमा जस्तापाता बाँड्दा पुराना घरहरू घट्न थालेका छन्। आठपहरियाले आफ्नो कुलपूजाको लागि खरको छानाले छाउनुपर्ने चलन छ, तर जस्तापाताले छाएको ठाउँमा पूजा गर्न नमिल्ने ७५ वर्षीय आइतमाया आठपहरियाले बताए।

